लिम्पियाधुरा सहितको नेपालको क्षेत्रफल घोषणा गरियोस्ः पूर्व मन्त्री अर्याल
नेकपा (एमाले) सचिव तथा पूर्व मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा सहितको नेपालको क्षेत्रफल घोषणा गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको शनिबार बसेको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै सचिव अर्यालले चुच्चे नक्शामा समेटिएको सम्पूर्ण भूभाग सहितको क्षेत्रफल घोषणा गर्न माग गरेकी हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका वेला सचिव अर्यालले २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको चुच्चे नक्शा सार्वजनिक गरेकी थिइन्। त्यो नक्शा संसद्ले एकमतले पारित गरिसकेको छ। तर, नेपालको हालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटरमा लिम्पियाधुरा लगायत भूभाग समेटिएको छैन।
प्रतिनिधि सभा बैठकमा बोल्दै अर्यालले भनिन्, “यथेष्ट ऐतिहासिक प्रमाण र तथ्यकै आधारमा त्यति वेला नक्शा अद्यावधिक गरिएको हो। तर, नीति तथा कार्यक्रममा नक्शा अनुसारको क्षेत्रफल घोषणा गर्ने र कार्यान्वयनमा लैजाने प्रतिबद्धता आएन।”
सरकारले आफ्नो भूमि फिर्ता गर्ने कुरामा शङ्का गर्नुपर्ने ठाउँमा रहेको अर्यालको भनाइ छ। “नक्शा अनुसारको क्षेत्रफल जारी गरेको खै? त्यो क्षेत्र अकुपाई गर्ने प्रबन्ध मिलाइयोस्।”
दुई देशबीचको सीमा समस्या समाधान गर्न गठित नेपाल र भारतको परराष्ट्र सचिव स्तरीय बैठक राख्न नेपाल सरकारले पहल गर्नुपर्ने र सुस्ता लगायत विवाद पनि समाधान गर्नुपर्नेमा उनले जोड दिइन्।