महिलाका कथा समेटिएको पुस्तक ‘म’ सार्वजनिक
महिलाका कथा समेटिएको पुस्तक म शनिबार सार्वजनिक गरिएको छ।
महिलावादी लेखकद्वारा लिखित म कथा संग्रहको दोस्रो शृङ्खला सार्वजनिक गरिएको हो। लुमले प्रकाशन गरेको मको पहिलो शृङ्खलामा महिलावादी लेखकहरूका जीवन जिउने शैली र संघर्ष समेटिएका थिए।
‘म कथा लेख्छु’ भनेर लेखिएका यी कथाले महिलाका अन्तर्सम्बन्ध पहिचान र सवालबारे महिलावादी आन्दोलनलाई जानकार गराउँदै त्यही अनुरूपका अजेन्डा तयार गर्न सहयोग पुर्याउने अपेक्षा रहेको लुमकी अध्यक्ष ज्योत्स्ना मास्केले बताइन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले महिलाको जीवन भोगाइ समेटिएको कथा संग्रहले अब महिलाले पनि आफ्ना संघर्षका कथाहरू बाहिर ल्याउनुपर्छ भन्ने सन्देश दिएको बताइन्।
अधिकारकर्मी मोहना अन्सारीले महिलाको कुरा आउँदा जात, धर्म, भाषा, वर्गको कुरा नभएर महिला भएर मात्र विषयको उठान हुने बताइन्। अब बिस्तारै महिलाका कथाहरू पनि बाहिर आउने क्रम शुरू भएको उनको भनाइ थियो।
अधिकारका क्षेत्रमा क्रियाशील देशभरका महिला लेखकले लेखेको कथा संग्रहमा १३ वटा कथा समेटिएका छन्। पुस्तकको सम्पादन कैलाश राई र भाषा सम्पादन बन्दना ढकालले गरेका हुन्।