आठ सूर्य, ६ छाप; कसले गर्यो एमालेमा अन्तर्घात?
स्थानीय सरकारको चुनावमा हार बेहोर्नुपरेपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता मात्रै होइन, केन्द्रीय नेता पनि ‘अन्तर्घात’ गरेको भन्दै एक-अर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन्।
पाँच वर्षअघि पहिलो दल बनेको नेकपा (एमाले) यो निर्वाचनमा भने दोस्रोमा झरेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा २९४ पालिकामा प्रमुख जितेको थियो भने अहिले २०५ मात्रै जितेको छ।
यो निर्वाचनबाट सत्तारूढ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले ३२७ स्थानीय तहमा जित हासिल गरेको छ भने उदयपुरको त्रियुगामा अग्रता कायम गरेको छ।
देशभरका ७५३ स्थानीय तहमध्ये ७५१ को नतीजा आइसकेको छ। अब उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगा नगरपालिकाको मात्रै मतपरिणाम आउन बाँकी छ।
यति वेला एमालेभित्र भने चुनावी हारको विषय खोतल्न थालिएको छ। अध्यक्ष केपी शर्मा ओलीले नै स्थानीय चुनावमा पार्टीभित्रै ‘लाजमर्दो अन्तर्घात’ भएको बताएपछि एमालेभित्र र बाहिर चर्चा हुन थालेको छ।
त्यसो त अघिल्लो निर्वाचनमा पहिलो दल बनेको एमाले खस्किनुमा कतिपय आफ्नै कारण पनि छन्। तर, केन्द्रमा बनेको सत्ता गठबन्धन एमाले हार्नुको प्रमुख कारण बन्यो। जसका कारण एमालेले ६ वटा महानगरमा एउटा पनि जित्न सकेन।
त्यस्तै, ११ उपमहानगरमध्ये तीनमा मात्र एमालेले जित हासिल गरेको छ। तीन उपमहानगरमा स्वतन्त्र र पाँच उपमहानगरमा सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।
एमालेका लागि घोराहीमा नरुलाल चौधरी, तुलसीपुरमा टीकाराम खड्का र कलैयामा विनोदप्रसाद साहले जित हासिल गरे। त्यस्तै, धरानमा हर्कराज साम्पाङ राई, जनकपुरधाममा मनोजकुमार साह सुडी र धनगढीमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रूपमा जित निकाले। जनकपुरधामको मेयरमा निर्वाचित साह कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बनेका थिए।
सत्तारूढ गठबन्धनबाट नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट, इटहरीमा हेमकर्ण पौडेल र बुटवलमा खेलराज पाण्डेय निर्वाचित भए। नेकपा (माओवादी केन्द्र) का राजन पौडेलले जितपुर सिमरा र नेकपा (एकीकृत समाजवादी) की मीना लामाले हेटौंडा उपमहानगरमा जित हासिल गरे।
६ सूर्य, १ खाली!
स्थानीय चुनावमा एमालेले ‘आठ सूर्य, सात छाप’ भन्ने नारा दिएको थियो। तर, मतदानको प्याटर्न हेर्दा ‘६ सूर्य, एक खाली’ देखिएको छ।
एमाले नेताहरूका अनुसार, ६ महानगरमध्ये दुई वटा महानगरमा जित्ने निष्कर्ष निकालिएको थियो। ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगरमा त गत निर्वाचनमा पनि नजितकाले गठबन्धन हुँदा झन् कठिन हुने एमालेको आकलन थियो। तर, जित्ने आश गरेका काठमाडौं र पोखरा महानगरमा शुरूआतदेखि नै पछाडि पर्दै गयो।
काठमाडौंमा एकातिर पाँच दलीय सत्ता गठबन्धन थियो भने अर्कोतिर स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको चर्चा थियो। मतगणना हुँदै गर्दा मतको प्याटर्नबारे पनि बाहिर मात्रै होइन, एमालेभित्र पनि चर्चा हुन थाल्यो। मतगणना स्थलमा रहेका एमाले प्रतिनिधिहरूले मेयरमा एमालेलाई निकै न्यून मत आएको जानकारी दिइरहेका थिए। यतिसम्म कि ‘कोर एरिया’ भनिएका भित्री शहरमा एमालेका प्रमुखका उम्मेदवारलाई आशा गरे अनुसार मत आएन।
एमालेले वडाध्यक्ष सहित प्यानल नै जितेका १२ वडामा पनि उपमेयरलाई मत जाँदा मेयरलाई न्यून मत आयो। जसले गर्दा एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा झर्न पुगे।
संघीय राजधानी रहेको काठमाडौंका मतदाता देशका अन्य क्षेत्रका भन्दा फरक देखिंदै आएका छन्। यही पालिका हो, जसले पञ्चायतकालमा नानीमैयाँ दाहाललाई जिताएको थियो। सधैं परिवर्तन खोजिरहने काठमाडौंले अहिले पनि फेरबदलको आवश्यकता महसूस गरिरहेको थियो। यही वेला र्यापर बालेन्द्र साहले स्वतन्त्र उम्मेदवारी दिए।
लामो समयदेखि राजनीतिक दलसँग असन्तुष्ट काठमाडौंका मतदाताले निर्वाचनमा पोख्ने माध्यम पाए बालेन्द्र। जसले गर्दा बालेन्द्र सहजै मेयर निर्वाचित भए।
एमालेका एक जना नेता एमाले र कांग्रेसबाट उम्मेदवार छनोटमा भएको कमजोरीका कारण बालेन्द्र विकल्पका रूपमा आएको बताउँछन्। पार्टीभित्रको अन्तर्घात पनि हार्नुको अर्को कारण भएको एमालेका तीन नेताको ठम्याइ छ। “काठमाडौं अलि अलि भड्किरहेको अवस्था थियो। एमालेले उम्मेदवार छनोटमा पनि ध्यान दिन सकेन, विवादित मान्छे उठायो। कांग्रेसले पनि पारिवारिक मान्छे उठाइदियो,” उनी थप्छन्, “जसका कारण स्वतन्त्र उम्मेदवारलाई फाइदा हुन पुग्यो।”
उपमेयर सहित ६ वटा सूर्यमा भोट आउँदा मेयरमा भने स्वतन्त्रलाई मत दिएको देखिएको छ। कतिपयले मेयरमा खाली पनि छोडेका थिए।
मेयरमा मात्रै होइन, वडाध्यक्षमा पनि अन्तर्घात भएको एमाले नेताहरू बताउँछन्। वडाध्यक्षमा खाली राख्दा यसपालि एमाले काठमाडौंका वडामा पनि कमजोर देखिएको छ। जसका कारण यसअघि जितेका वडा पनि गुमाउनुपरेको एमाले अर्का नेता बताउँछन्। “स्वतन्त्रका कारण होइन, पार्टीभित्रकै आकाङ्क्षीका कारण अन्तर्घात भएको देखिएको छ। मतपत्र खाली राखेका कारण हामीले हारेका छौं,” ती नेता भन्छन्, “चार सदस्यलाई पनि दिएको छ, मेयर र उपमेयरलाई पनि दिएको छ, तर वडाध्यक्ष पदमा खाली राखेको छ।”
सँगैको ललितपुर महानगरमा पनि त्यस्तै भएको छ। उपमेयरमा मञ्जली शाक्य बज्राचार्यले झण्डै सात हजार मतले जित्दा मेयरमा हरिकृष्ण व्यञ्जनकार कांग्रेसका चिरिबाबु महर्जनसँग २२ हजार मतले पराजित भएका छन्। अझ ललितपुरमा सबैभन्दा बढी ११ वडाध्यक्ष जितेको छ। पार्टी कार्यकर्ताको असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अन्तर्घात हुने गरेको एमाले नेताहरूको भनाइ छ।
अर्को महानगर पोखरको अवस्था पनि त्योभन्दा फरक देखिएको छैन। बरु पोखरामा त खुलेआम एमाले नेताहरू एकअर्कालाई अन्तर्घाती भनिरहेका छन्।
पोखरामा कांग्रेस र एमाले बलिया शक्तिका रूपमा रहेका थिए। नेकपा (एकीकृत समाजवादी) लाई कमजोर मानिएको थियो। तर, एमालेभित्रको अन्तर्घातले एकीकृत समाजवादीका धनराज आचार्य मेयरमा निर्वाचित भएको आकलन छ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङमाथि खगराज अधिकारीको पक्षले अन्तर्घातको आरोप लगाएको छ। एमालेबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापालाई हराउन उपमहासचिव गुरुङ पक्षको भूमिका रहेको नेता अधिकारी पक्षको आरोप छ। जसका कारण अधिकारी पक्ष रुष्ट छ। गुरुङ निकट एक नेता भने यो आरोप पूरै निराधार भएको बताउँछन्।
त्यो असन्तुष्टि एमालेको कार्यक्रममै पोखिएको छ। जेठ ११ गते मध्याह्न १२ बजे पोखराको शहीद चोकमा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उपमहासचिव गुरुङ बोल्दै गर्दा एमालेका नेता-कार्यकर्ताले नाराबाजी गरे। उनीहरूले ‘अन्तर्घाती होशियार, अन्तर्घाती मूर्दावाद’ लगायत नारा लगाए।
उनीहरूले उपमहासचिव गुरुङ बोलिरहँदा नाराबाजी गरेपछि एमाले नेत्री मीना गुरुङ रोक्न गएकी थिइन्। उनले भनेको कार्यकर्ताले नमानेपछि एमाले महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले शान्त पारे।
मेयरका उम्मेदवार थापा नेता अधिकारी पक्षका हुन्। गण्डकीमा एमालेभित्र उपमहासचिव गुरुङ र नेता अधिकारी समूहबीच आन्तरिक प्रतिस्पर्धा छ।
शुरूआतमा एमालेले दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, अधिकारी पक्षले नै पौडेलमाथि सुन चोरेको आरोप लगाउँदै १० वर्षअघिको भिडिओ सार्वजनिक गरेको थियो। जसले गर्दा पौडेलको टिकट खोसेर एमाले केन्द्रले अधिकारी पक्षका थापालाई दिएको थियो।
‘लाजमर्दो अन्तर्घात भो!’
एमाले अध्यक्ष ओलीले नै स्थानीय चुनावमा पार्टीभित्रै ‘लाजमर्दो अन्तर्घात’ भएको अभिव्यक्ति दिएका छन्। जेठ ११ गते बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले अरू दलमा नदेखिएको अन्तर्घात एमालेभित्र देखिएको बताएका थिए।
उनले भनेका थिए, “कांग्रेसमा छैन, माओवादीमा छैन। तर, लाजैमर्दो भयो हाम्रोमा।”
तथापि स्थानीय नेता र कार्यकर्तालाई सान्त्वना दिन उनले एमालेले नहारेको जिकिर गरे। उनले एमालेको ‘पपुलर’ मत नघटेकाले हारेको भन्न नमिल्ने दाबी गरेका थिए। “अलिकति हो सीट घटेको, पपुलर मत घटेको छैन। यसलाई हारेको भन्न मिल्दैन,” अध्यक्ष ओलीले भनेका थिए।
आन्तरिक रूपमा ‘अन्तर्घात’ भन्दै आएका भए पनि सार्वजनिक रूपमा भने अध्यक्ष ओली सहित एमाले नेताहरूले सत्तापक्षले धाँधली गरेकाले हार बेहोर्नुपरेको आरोप लगाउँदै आएका छन्। सत्तारूढ गठबन्धनका नेता भने एमाले नेताहरूले हार स्वीकार गर्न नसकेर धाँधलीको आरोप लगाएको जवाफ दिइरहेका छन्।