स्थानीय सरकारमा कुन दलका कति जनप्रतिनिधि?
स्थानीय तह निर्वाचन सकिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ।
बाजुराको बुढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। ७५१ स्थानीय तहको परिणाम अनुसार, कांग्रेस पहिलो स्थानमा छ। कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ। कांग्रेसका तर्फबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन्।
नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र) बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यसअघि २०७४ सालमा तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट ११ हजार ४५६, एमालेबाट १४ हजार एक सय र माओवादीबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए।
अहिले कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला सदस्य र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन्। एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन्।
कुल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी तेस्रो स्थानमा छ। माओवादीबाट प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र वडा सदस्यमा एक हजार ८०६ जना निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)बाट नौ मेयर, २१ अध्यक्ष, १२ उपमेयर, १९ उपाध्यक्ष, २९५ वडाध्यक्ष, २९९ महिला सदस्य, २९५ दलित महिला सदस्य र ५९७ सदस्य गरी एक हजार ५४८ प्रतिनिधि निर्वाचित भएका छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट १२ मेयर, आठ अध्यक्ष, ११ उपमेयर, १२ उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित महिला सदस्य र ३८९ सदस्य सहित ९८६ प्रतिनिधि निर्वाचित भएका छन्।
६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि निर्वाचन भएको थियो।
त्यस्तै, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कुल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो। यस निर्वाचनमा करीब एक लाख ४५ हजार जनाको उम्मेदवारी परेको थियो।