स्थानीय तहमा ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
स्थानीय तहको निर्वाचनमा ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी थिए। दल बाहेक ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। जसमा २६६ पुरुष र ११९ महिला छन्।
निर्वाचन आयोगका अनुसार, स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिकाको मेयरमा सात र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन्। काठमाडौं महानगरपालिका सहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन्।
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भए। जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज साम्पाङले २० हजार ८२१ र धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मत पाए।
स्वतन्त्र उपमेयर दुई र उपाध्यक्ष दुई जना निर्वाचित भएका छन्। त्यस्तै, स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएको आयोगले जनाएको छ। तीमध्ये १३३ पुरुष र तीन महिला छन्।
यस्तै, महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५ र सदस्यमा ११७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
अहिलेसम्म ७५३ मध्ये ७५१ स्थानीय तहको मतगणना सकिएको छ। उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ। (रासस)