सर्भेयर गौतमको ‘पन्ध्रौं चुली’ सार्वजनिक
सर्भेयर खिमलाल गौतमको सगरमाथा सम्बन्धी पुस्तक पन्ध्रौं चुली सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मुख्य सचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामी रिता शेर्पा र मिङ्मा शेर्पाले पुस्तक सार्वजनिक गरेका हुन्।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लेखक अमर न्यौपाने र पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले पुस्तक तथा सगरमाथाबारे चर्चा गरे। सीमाविद् श्रेष्ठले पन्ध्रौं चुली रोचक किसिमले लेखिएको बताए। उनले भने, “भविष्यमा सगरमाथा आरोहण गर्ने व्यक्तिका लागि यो पुस्तक उपयोगी छ नै। पर्वतारोहीले यो पढ्नैपर्छ।”
कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुका कारण तथा सगरमाथा सम्बन्धी अनुभव सुनाएका थिए। “पन्ध्रौं चुली भावना र भूगोलको सम्मिश्रण हो। सगरमाथाका विषयमा हामीले गौरव मात्र गर्यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,” गौतमले भने, “सगरमाथाका विषयमा नेपालीमा सन्दर्भ सामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैपर्यो भनेर यसमा हात हालेको हुँ।”
अङ्ग्रेजीमा हिमालबारे धेरै किताब लेखिएको भए पनि नेपालीमा एकदम कम लेखिएको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए। पन्ध्रौं चुलीले त्यस किसिमको अभाव पूरा गर्ने उनको भनाइ थियो।
लेखक गौतमले २०६८ र २०७६ सालमा सगरमाथा आरोहण गरेका छन्। पछिल्लो पटक उनी उचाइ मापन गर्न सगरमाथा चढेका थिए। यो पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।