पोखराका मेयर आचार्यसँग आयोगले माग्यो स्पष्टीकरण
पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ।
मेयर आचार्यले निर्वाचन कार्यालयको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो सङ्ख्यामा मत बदर भएको अभिव्यक्ति दिएका थिए। विजय र्यालीलाई सम्बोधन गर्दै आचार्यले भनेका थिए, “निर्वाचन कार्यालयले धेरै बदनियत गर्यो। शुरूमा जसको उम्मेदवार हुँदैन, त्यसको चुनाव चिह्न राखिंदैन भन्यो। दिनेश थपलियाजीले पत्रकार सम्मेलन गरेरै भन्नुभयो। हामीले यसै गरी चुनाव प्रचार गर्यौं। तर, उम्मेदवार नहुने ठाउँमा चुनाव चिह्न हटेन। ठूलो सङ्ख्यामा मत बदर भयो।”
पोखरा महानगरमा मेयरमा १४.२० प्रतिशत अर्थात् २० हजार ३३२ र उपमेयरमा १३.३४ प्रतिशत अर्थात् १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।
विवादास्पद अभिव्यक्ति दिएपछि आचार्यसँग आयोगले २४ घण्टे स्पष्टीकरण मागेको हो। आयोगले ‘के कति कारणले अभिव्यक्त गरेको हो? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रमा कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन’ भन्दै पत्र काटेको छ।
आयोगले २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा प्रयोग गरेको उल्लेख गरेको छ। आयोगले भनेको छ, ‘मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारीप्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो? निर्वाचन आयोगबाट विज्ञ टोलीको सिफारिशमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैन? पुष्टि गर्ने आधार, प्रमाण र कारण के छ?’
आयोगको पत्रमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ समेतका प्रचलित निर्वाचन कानून अनुरूप सम्पन्न भई अन्तिम मतपरिणाम प्रकाशन हुने चरणमा रहेको स्थानीय तह २०७९ को निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउनुपर्ने कारण के हो? यो पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्नुहुनु निर्णय अनुसार सूचित गरिन्छ।’