ओलीलाई दाहालको चुनौती- अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि मानिन्छ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अब प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले एमाले अध्यक्ष ओली माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएको जिकिर गरे। यसअघि बिहीबार प्रतिनिधि सभामा बोल्दै ओलीले माओवादीले अरूको बैसाखी टेकेर चुनाव जितेको टिप्पणी गरेका थिए।
त्यसको जवाफमा अध्यक्ष दाहालले ओलीलाई पनि माओवादीको बैसाखी टेकेर प्रधानमन्त्री भएको स्मरण गराए। “पहिले माओवादीको बैसाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो, दोस्रो पटक माओवादीको मतले हुनुभएको हो,” दाहालले चुनौती दिए, “अब प्रधानमन्त्री भएर देखाउनुस्। अबको चुनावबाट प्रधानमन्त्री हुनुभयो भने मानिन्छ।”
उनले एमाले अध्यक्ष ओली अझै पनि नसच्चिएको बताए। यतिका चुनाव हार्दा पनि ओलीको चेत नखुलेको दाहालको भनाइ थियो।
एमाले अध्यक्ष ओलीले माओवादीलाई स्थानीय चुनावपछि गुगलमा खोज्नुपर्ने भनाइको पनि दाहालले खण्डन गरे। “मलाई र माधव नेपाललाई गाली गर्दै वैशाख ३० गतेपछि माओवादीलाई गुगलमा खोज्नुपर्छ भन्नुभएको थियो,” दाहालले भने, “म भन्छु, माओवादीलाई गुगलमा खोज्नु पर्दैन। यही सदनमा एउटा शक्तिका रूपमा तपाईंसँग आँखा जुधाएर बहस गर्न माओवादी केन्द्र तयार छ।”
उनले ओलीको व्यवहारले एमालेसँगको गठबन्धन सम्भव नभएको बताए। यही गठबन्धन जारी रहने उनको भनाइ थियो। “गठबन्धन टुट्यो भने अहिले पनि देश दुर्घटनामा जाने खतरा छ,” दाहालले भने।
प्रतिनिधि सभाको अवरोध हटाएकोमा भने माओवादी अध्यक्ष दाहालले एमालेलाई धन्यवाद दिए। उनले भने, “सदन अवरोध हट्यो। प्रतिपक्षलाई धन्यवाद नै भन्न चाहन्छु।”