काठमाडौंमा सडक विस्तार होइन, फूटपाथ विस्तार गर्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले काठमाडौंमा सडक भन्दा पनि फूटपाथ विस्तारमा जोड दिनुपर्ने बताएका छन्।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रशंसा गरे। उनले अब नीति तथा कार्यक्रम लागू गर्ने गरी बजेट आउनुपर्ने बताए।
सरकारले नीति तथा कार्यक्रममा काठमाडौंमा एउटा मात्रै नगरपालिकाले केही गर्न नसक्ने र सबै मिलेर काम गर्नुपर्ने गरी योजना ल्याएको छ। त्यसको प्रशंसा गर्दै थापाले भने, “काठमाडौंलाई चाहिएको सडक विस्तार आयोजना होइन, फूटपाथ विस्तार, निर्माण, पुन:स्थापना र स्तरोन्नति हो।”
फूटपाथ विस्तार र स्तरोन्नति गर्न सकिए काठमाडौंको अवस्थामा फेरबदल आउने उनको भनाइ थियो। त्यसका लागि सरकारले बृहत् परियोजना ल्याउनुपर्ने बताए।
उनले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिए। त्यसका लागि सरकारले जनतालाई राहत दिनुपर्ने कार्यक्रम ल्याउनुपर्ने बताए।
थापाले भने, “पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने कुरा आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ। यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। यसबाट उत्पन्न समस्या पटक पटक भोगका पनि छौं।”
यससँगै व्यापार घाटा कम गर्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो। “आम्दानी कम छ, खर्च यसरी नै हुँदै जाने हो भने थेग्न सकिंदैन । व्यापार घाटा सबैभन्दा चिन्ताको विषय हो,” थापाले भने।