बेलायती संस्था बीआईआईको नेपालमा १२ अर्ब लगानी
बेलायती अन्तर्राष्ट्रिय लगानी (बीआईआई) ले नेपालमा १०० मिलियन डलर (करीब १२ अर्ब ४० करोड रुपैयाँ) भन्दा बढी लगानी गरिसकेको जनाएको छ।
यसअघि, सीडीसी ग्रूप भनिने बेलायत सरकारको विकास वित्त संस्थान (डीएफआई) को नेपालमा नाम परिवर्तनका सम्बन्धमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो। बीआईआईले नेपालको वित्तीय सेवा, पूर्वाधार आयोजना तथा दूरसञ्चार सेवामा लगानी गरेको जनाइएको छ।
बीआईआईले नेपालमा आर्थिक अवसरको सिर्जना, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको विकास प्राथमिकतालाई बढाउने लगानी वृद्धि गर्न गरिरहेको सहयोगलाई निरन्तरता दिने पनि जनाएको छ। बीआईआईले नेपालमा चार वर्षदेखि लगानी गर्दै आएको छ।
सन् २०२० देखि यसको औपचारिक कार्यालय स्थापना गरिएको थियो। नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धन गर्न यसले काम गरिरहेको जनाइएको छ।
बीआईआईले एनएमबि ब्यांकलाई १५ मिलियन डलर (करीब एक अर्ब ८६ करोड रुपैयाँ) ऋण दिएको छ। त्यसै गरी बीआईआईले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा १२ मिलियन डलर (करीब एक अर्ब ४९ करोड रुपैयाँ), माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा २१.९ मिलियन डलर (करीब दुई अर्ब ७२ करोड रुपैयाँ), डोल्मा इम्प्याक्ट फन्डमा ४० मिलियन डलर (करीब चार अर्ब ९६ करोड रुपैयाँ) तथा ग्लोबल आईएमई ब्यांकमा २५ मिलियन डलर (करीब तीन अर्ब १० करोड रुपैयाँ) लगानी गर्ने समझदारी गरेको छ।
बीआईआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निक ओ’डोनोहोले नेपालमा उत्पादनमूलक, दिगो र समावेशी प्रभाव पार्ने खालका व्यवसायमा लगानी वृद्धि गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। अहिले बीआईआईले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा लगानी विस्तार गरिरहेको छ। “नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनमा हाम्रो विशेष जोड छ,” उनले भने।
बेलायती राजदूत निकोला पोलिटले नेपालको दिगो आर्थिक विकासका लागि सहयोग गर्नु बेलायतको प्राथमिकतामा रहेको बताइन्।
बीआईआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निक ओ’डोनोहो तथा बेलायती राजदूत निकोला पोलिटद्वारा आयोजित रात्रिभोज सहितको कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरूको सहभागिता थियो।