एमाले सांसदहरूको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले असंसदीय भाषा बोलेको भन्दै नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिएका छन्।
एमाले सांसदहरूले विरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबारे अनावश्यक आक्षेप लगाएको भन्दै उनीहरूले विरोध गरेका हुन्।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मन्त्री बडूको भनाइ रेकर्डबाट हटाउन माग गरे। मन्त्रीले प्रयोग गरेको ‘असंसदीय’ भाषा रेकर्डबाट नहटेसम्म बैठक चल्न नदिने उनले बताए।