गृहमन्त्रीका भाइ तिलोत्तमा नगरपालिकाको मेयरमा विजयी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण विजयी भएका छन्।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले २४ हजार ३९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईं २३ हजार ६३१ मत ल्याई दोस्रो स्थानमा छन्। यस्तै‚ राष्ट्रिय जनमुक्ति पार्टीका सुन्दर गुरुङ पाँच हजार ६१४ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।
उपमेयरमा भने एमालेकी जागेश्वरदेवी चौधरी फराकिलो मतान्तर सहित विजयी भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ११ हजार ५४० मत बढी ल्याएकी छन्। चौधरीले २३ हजार ८६ प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन्। यस्तै‚ राष्ट्रिय जनमुक्तिकी गीता सारूले सात हजार ६०८ प्राप्त गरेकी छन्।