बाजुराका सीडीओ र एसपीलाई हटाउन निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई तीन दिनभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ भने बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका दिन बाजुराको बुढीगंगा नगरपालिकामा विवाद भएको थियो। त्यसमा स्थानीय प्रशासन र सुरक्षा निकायले जिम्मेवारी पूरा नगरेको जनाउँदै निर्वाचन आयोगले हटाउन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्।
निर्वाचनको निष्पक्षतामा आँच आउने काम गरेको जनाउँदै आयोगले बुढीगंगा नगरपालिकामा भएको सबै मतदान रद्द गर्ने पनि निर्णय गरेको छ। यसमा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरेको आयोगको छानबिनमा देखिएको छ।
आयोगको निर्णयमा भनिएको छ, ‘सुरक्षा व्यवस्थापनमा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले निजहरूलाई तीन दिनभित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिने।’
यससँगै आयोगले तीनै जनालाई विभागीय कारबाही गर्न पनि निर्देशन दिएको छ। त्यसको जानकारी तीन महीनाभित्र आयोगलाई दिन पनि गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
बुढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गरेको आयोगले पुनः मतदान गर्ने निर्णय गरेको छ। यसका लागि निर्वाचनको मिति तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको प्रवक्ता पौडेलले बताए।