वर्ल्ड भिजन नेपालको रिपोर्ट सार्वजनिक
वर्ल्ड भिजन इन्टरनेशनल नेपालले ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा अतिजोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधारका लागि प्रणाली सबलीकरण, सेवा प्रवाह, नवप्रवर्तन र समाधानका क्षेत्रमा सन् २०२१ मा हासिल गरेका उपलब्धि तथा असल अभ्यासको रिपोर्ट सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित एकदिने गोष्ठीमा बालबालिका, समुदायका प्रतिनिधि, सरकार, दाता, नागरिक समाज, सञ्चारकर्मी तथा साझेदार संस्थाको सहभागिता थियो। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले वर्ल्ड भिजन इन्टरनेशनल नेपालले बालबालिकाको क्षेत्रमा गरेको लगानीले उनीहरूको समग्र विकासमा परिवर्तन ल्याउन मद्दत पुगेको बताइन्।
उनले भनिन्, “हाम्रो समाजमा अधिकांश महिलाले घरमा कुनै न कुनै हिंसा सहनु परिरहेको छ। महिला हिंसा अन्त्य गर्न उनीहरूको क्षमता विकास र आर्थिक उन्नतिको क्षेत्रमा सहयोग गर्नुपर्ने देखिन्छ।”
कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका निमित्त राष्ट्रिय निर्देशक अनुभव अधिकारीले, सन् २०२१ चुनौतीपूर्ण वर्ष रहे पनि वर्ल्ड भिजन इन्टरनेशनल नेपालले साझेदार, बालबालिका र समुदायसँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, संरक्षण र जीविकोपार्जन कार्यक्रम मार्फत दुई लाख २० हजार बालबालिका सहित तीन लाख तीन हजारभन्दा बढी व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्न सफल भएको बताए।
सन् २०२१ मा पाँच वर्षमुनिका १९ हजार ३९५ बालबालिकाको वृद्धि अनुगमन गरिएको थियो। त्यस्तै, १६ हजार ८७५ लाई पठन सामग्री वितरण गरिएको थियो भने चार हजार ५९७ परिवारलाई कृषिको उत्पादकत्व बढाउन कृषि सामग्री प्रदान गरिएको थियो। त्यस्तै, कोभिड-१९ को दोस्रो लहरमा पनि अत्यावश्यक राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको थियो।
गोष्ठीमा वर्ल्ड भिजनका लागि दक्षिणएशिया तथा प्रशान्त क्षेत्रको अगुवा चेरियन थोमसले जोखिममा रहेका बालबालिका, परिवार तथा समुदायको जीवन सुधारका लागि एकीकृत प्रयास हुनुपर्नेमा जोड दिए।