स्वतन्त्रबाट जितेका मेयर कांग्रेसको विजय जुलूसमा
स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयर निर्वाचित भएका मनोज साह नेपाली कांग्रेसले आयोजना गरेको विजय जुलूसमा सहभागी भएका छन्।
बुधबार कांग्रेसले आयोजना गरेको विजय जुलूसमा मेयर साह पनि सहभागी भएका हुन्। स्थानीय गोपाल धर्मशालाबाट शुरू भएको विजय जुलूसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट जनकपुरधाम उपमहानगरमा जनता समाजवादी पार्टी (जसपा) को उम्मेदवार उठेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
कांग्रेसले जनकपुरधाम उपमहानगरका मतदातालाई धन्यवाद ज्ञापन गर्न बुधबार विजय जुलूस निकालेको हो। जुलूसमा कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला सभापति योगेन्द्र पञ्जियार सहभागी थिए।
आफू कांग्रेसमा प्रवेश नगरेको र मेयरको हैसियतले जुलूसमा सहभागी भएको साहको भनाइ छ। आफूलाई अब कुनै पनि राजनीतिक दलले कार्यक्रममा बोलाउँदा सहभागी हुनुपर्ने बाध्यता रहेको बताउँदै त्यही अनुरूप आजको जुलूसमा पनि सहभागी भएको उनले बताए।
विजय जुलूसपछि आयोजित सभालाई सम्बोधन गर्दै साहले भने, “म स्वतन्त्र उम्मेदवार भए पनि कांग्रेसको चारतारे झण्डा र जय नेपालको नारा लगाउँदै आएकाले जितेको हुँ। कांग्रेसका साथीहरूले पनि मलाई सहयोग गरे।”
उनी कांग्रेसको विजय जुलूसमा सहभागी भएपछि जसपा नेताहरूले आलोचना गरेका छन्। कांग्रेसले गठबन्धनका उम्मेदवारलाई हराउन भूमिका खेलको जसपा नेता विष्णुदेव साहको आरोप छ। “जनकपुरका २५ वटै वडाको मतपत्रमा कांग्रेसीहरूले एउटा घण्टाघरमा र बाँकी रूख चिह्नमा मतदान गरेका छन्,” जसपा नेता साहले भने, “कांग्रेसले ठूलो विश्वासघात गरेको छ।”
आजको जुलूसमा मेयरको सहभागिताले पनि त्यसको पुष्टि गरेको उनको भनाइ छ। जसपाले गठबन्धन अनुसार कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेका किशोरी साहलाई मतदान गरेको उनले बताए।