अमेरिकी कम्पनी ‘इनड्राइभर’को सेवा काठमाडौंमा
अन्तर्राष्ट्रिय राइड हेलिङ कम्पनी ‘इनड्राइभर’ ले काठमाडौंमा आफ्नो सेवा शुरू गरेको छ।
इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्रामा आपसी सहमतिका आधारमा मात्रै सेवा लिन-दिन सक्ने सुविधा दिन्छ। इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडल मार्फत यात्रुलाई आफूले रोजेको रूटका लागि भाडा तोक्न तथा नजिकका चालकबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन्।
यसको बदलामा चालकले आफ्ना लागि कुन राइडको अनुरोध उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन् भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन्। अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरूभन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रूपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्छ।
यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरूले चालकको रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन्।
चालकले पनि कुनै अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको सङ्ख्याका आधारमा छनोट गर्न सक्नेछन्।
“इनड्राइभर काठमाडौं उपत्यकामा शुरू भएको छ र छिटै नै नेपालका मुख्य शहरमा उपलब्ध गराउनेछौं,” इनड्राइभरको दक्षिणएशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन्। इनड्राइभरले सेवा सञ्चालनको शुरूआती कम्तीमा ६ महीनासम्म चालकसँग कुनै कमिशन नलिने बताएको छ। यसको मतलब उनीहरूले प्रत्येक राइडको सम्पूर्ण शुल्क कर बाहेक आफैंले प्रयोग गर्न पाउनेछन्।
त्यसपछि लागू हुने कमिशन काठमाडौंमा चलेका अन्य राइड हेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रूपले कम हुने विज्ञप्तिमा उल्लेख छ। इनड्राइभरले हालसम्म नेपालमा चार हजारभन्दा बढी चालकलाई साइन अप गरिसकेको छ।
राइड रिक्वेस्ट बूक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायत जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ। सिस्टममा रजिस्टर्ड भएका चालकले तुरुन्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्वीकार गर्ने, अस्वीकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन्।
इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा सर्वसाधारणलाई नै उपलब्ध गराएको छ। उदाहरणका लागि, एप मार्फत यात्रुले काठमाडौंको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रा गर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथसम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ।
इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो। यसका सेवा विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन्। कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ।
इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एशिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरूमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ।