नदीमा प्लास्टिक फोहोर रोकथाम गर्न परियोजना सञ्चालन
नर्वेजियन राजदूतावासको सहयोगमा वातावरण सम्बन्धी काम गर्ने विभिन्न पाँच वटा गैरसरकारी संस्थाले ‘अनौपचारिक क्षेत्रलाई बढवा दिएर नेपालका नदीमा प्लास्टिकको रोकथाम’ परियोजना शुरू गरेका छन्।
परियोजनामा विभिन्न प्रकारका प्लास्टिक सङ्कलन गरेर अलग अलग रूपमा राखेर पुनःप्रयोग गर्न मिल्ने प्रणाली लागू गर्ने तथा यसका लागि पूर्वाधार निर्माण गर्ने योजना रहेको छ। यस परियोजनामा स्थानीय रूपमा सञ्चालित प्लास्टिक रिसाइक्लिङ सुविधाको स्थापना पनि समावेश छ। जसले नदीमा फोहोर रोक्न उच्च र कम गुणस्तरको प्लास्टिकको व्यवस्थापन गर्न सक्छ।
यस सम्बन्धी कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले प्लास्टिक फोहोरका कारण बागमती फोहोर बन्दै गएको बताए। यो समस्याको समाधान गर्न बलियो नीति-नियमको पालना गर्न जरुरी रहेको उनको भनाइ थियो।
मन्त्री यादवले मानिसलाई खोलामा फोहोर फाल्नुअघि फोहोर छुट्याउनुपर्ने विषयमा सचेत गराउनुपर्ने बताए। प्लास्टिकको फोहोर हटाउन यो परियोजनालाई साथ दिने उनले बताए।
कार्यक्रममा नेपालका लागि नर्वेजियन राजदूत तरोन ड्रमडालले भनिन्, “अहिले काठमाडौं उपत्यका हेर्यौं भने फोहोर फाल्ने ठाउँ जस्तै देखिन्छ, नदीनालामा पनि प्लास्टिकको थुप्रो नै भेटिन्छ।”
उनले प्लास्टिक फोहोरको समस्या सन् १९५० बाट शुरू भएको र विश्वमै समस्या उत्पन्न हुन थालेको बताइन्। प्रदुषणका कारण काठमाडौंमा वर्षाको समयमा बाढी आउने बताउँदै फोहोर व्यवस्थापन गरेर कुहिने र नकुहिने फोहोरको पनि व्यवस्थापन गर्न सके केही हदसम्म वातावरण संरक्षण गर्न सकिने उनको भनाइ थियो।
त्यस्तै, अनौपचारिक रूपमा फोहोर व्यवस्थापनमा काम गरिरहेका व्यक्तिले प्लास्टिक व्यवस्थापनमा मद्दत गर्न सक्ने उनले बताइन्। झण्डै १० देखि १५ हजार फोहोर सङ्कलन गर्ने व्यक्ति रहेका छन्, जसमा अधिकांश महिला छन्।
काठमाडौंको जनसङ्ख्या बढ्दै जाँदा प्लास्टिकको प्रयोग र फोहोर उत्पादन पनि बढ्दै गएको छ। राजधानीमा फोहोर व्यवस्थापन गर्ने तरीकामा असंगठित डम्पिङ र खुलेआम जलाउने गरिन्छ। औसतमा ३२ प्रतिशत फोहोर जलाइने र २७ प्रतिशत खुला रूपमा नदी किनारमा फालिने गरिएको छ।
गैरसरकारी संस्था क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राले अनौपचारिक फोहोर सङ्कलन गर्ने मजदूरहरू वातावरणका लागि महत्त्वपूर्ण घटक हुने बताए।
यस परियोजनामा क्रिएशन, ग्रिड अरेन्डल, डोको रिसाइक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एशोसिएशन र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्यूटले काम गर्नेछ।