सामन्तवाद अन्त्य गर्न गुठी विधेयक : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामन्तवाद अन्त्य गरी समाजवादको बाटोमा लैजान सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको बताएका छन् ।
मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार भेटमा सरकारका प्रवक्ता बाँस्कोटाले विधेयक सांस्कृतिक मूल्य, मान्यतालाई कायम राख्दै भूमिहीन किसानका समस्या समाधान गर्न ल्याइएको बताए ।
काठमाडौं उपत्यका र उपत्यका बाहिरका गुठीबारेका सवाल फरकफरक भएको भन्दै मन्त्री बाँस्कोटाले सरोकारवालाले उठाएका विषय कानून निर्माणका क्रममा सम्बोधन गरिने बताए ।
“नयाँ राजीतिक प्रणाली र संविधान अनुकूल नयाँ कानून बनाउने क्रममा पुराना कानून विस्थापन गरी नयाँ कानून आउन थालेका हुन्”, उनले भने । विधेयकमा कुनै त्रुटि भए छलफल गरिनेछ ।”
‘मिडिया काउन्सिल विधेयक’ लाई पनि प्राप्त सुझावका आधारमा संसद्ले उचित छलफल गरेर पारित गर्ने जनाउँदै उनले सरकारले प्रेस स्वतन्त्रतामा तरबार नचलाउने बताए ।
उनले विधेयक फिर्ता नहुने तर संसदमा छलफल हुने बताए । “ हामीलाई प्रेस स्वतन्त्रताको मर्म राम्रोसँग थाहा छ” उनले भने “श्रमजीवी पत्रकारले न्यूनतम् पारिश्रमिक पाउनुपर्छ भनेर अडान लिँदा मेरो भनाइ मन परेन भने म के गर्न सक्छु ?”
लोकसेवाको आयोगले स्थानीय तहको कर्मचारीका लागि गरेको विज्ञापन रद्द गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले त्यस्तो प्रकारको निर्देशन नआएको भए उचित हुने प्रतिकृया दिए ।
उनले यसबारे सरकारले ठोस धारणा बनाइनसकेको जानकारी बताए ।