तुलसीपुरमा एमालेका खड्का र चौधरी निर्वाचित
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।
पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी निर्वाचित भएका हुन्। मेयरका निर्वाचित खड्काले नेपाली कांग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पराजित गरे। उनले ३१ हजार ४०८ मत पाए भने कांग्रेसका गिरीले २७ हजार ७१७ मत पाए।
त्यस्तै, उपमेयरमा एमालेकी चौधरीले नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानालाई नौ हजार ५३२ मतान्तरले पराजित गरिन्। चौधरीले ३० हजार ५९७ मत पाइन् भने रानाले २१ हजार ६५ मत पाए।
२०७४ को निर्वाचनमा पनि एमालेकै घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित भएका थिए।
तुलसीपुर उपमहानगरको १९ वटा वडामध्ये एमालेले १० वटा वडामा प्यानल सहित जितेको छ। गठबन्धनबाट कांग्रेसले पाँच र माओवादीले तीन वटा वडामा जितेको छ। तुलसीपुर-१६ मा भने स्वतन्त्र उम्मेदवार शिवानन्द डीसी निर्वाचित भएका छन्।
२०७४ को निर्वाचनमा एमालले १० र कांग्रेसले नौ वटा वडामा जितेका थिए।