क्रिकेट खेलाडीको पारिश्रमिक वृद्धि
नेपाल क्रिकेट संघ (क्यान) ले ‘सेन्ट्रल कन्ट्र्याक्ट’ मा रहेका खेलाडीको पारिश्रमिक बढाएको छ।
क्यानको बोर्ड बैठकले पुरुष खेलाडीको १० हजार रुपैयाँ बढाउने निर्णय गरेको छ। यसअघि सेन्ट्रल कन्ट्र्याक्टमा रहेका ‘ए’ श्रेणीका खेलाडीले ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३० हजार मासिक पारिश्रमिक पाउँदै आएका थिए।
त्यस्तै, महिला खेलाडीको ‘ए’ र ‘बी’ श्रेणीको ६ हजार तथा ‘सी’ श्रेणीका खेलाडीको पाँच हजारले बढाइएको छ। यसअघि ‘ए’ श्रेणीकाले १५ हजार, ‘बी’ श्रेणीकाले १२ हजार र ‘सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पारिश्रमिक पाउँदै आएका थिए।
क्यानले अन्य कर्मचारीको पनि पारिश्रमिक बढाएको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन्। सबै मैदान कर्मचारीहरूको तीन हजार, मैदान कार्यालय सहयोगीको पाँच हजार र त्रिवि क्रिकेट मैदानमा पिच क्युरेटरको मासिक ६ हजारले पारिश्रमिक बढाइएको छ।