जित सुनिश्चित भएपछि बालेनले भने- बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला
काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफूलाई सधै झकझकाइ राख्न सबैलाई आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबूक मार्फत आफ्नो भनाइ राख्दै सबैको सहयोग जरुरी भएको औंल्याएका छन्। “हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको,” साहले भनेका छन्, “हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला।”
उनले काठमाडौंको मुहार फेर्न मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। “अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौं,” साहले भनेका छन्।
बालेन्द्र साहको अपील
उनले विजय जुलूस ननिकाल्न पनि आग्रह गरेका छन्। साहले भनेका छन्, “जित–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ। घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर, अहिले विजय जुलूस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौं।!”
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ। यहाँ विश्वासको कुरा छ। विश्वासमा जित वा हार हुँदैन।
जित-हारलाई मतगणना सकिएसँगै सकिदिऔं। घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर, अहिले विजय जुलूस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौं।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनोट गर्नुभएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुर्याउनुपर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।
दोस्रो, ठाउँ ठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्यालीका लागि काठमाडौं आउने दु:ख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुशी हुनेछौं।
अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा 'धन्यवाद र्याली' गर्नुहोला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ। 'बालेन' हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।
अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब शुरू हुनेछ। हामीले हिंड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ।
हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको ऊर्जाका लागि हामी सधैं तपाईंहरूसँग जोडिरहेका हुन्छौं। तपाईंहरूको उपस्थिति र साथको आवश्यकता महसूस हुने बित्तिकै हामी आवाज दिनेछौं।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं। हरेक टोल टोल र गाउँ गाउँमा 'बालेन' हरू भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून्।
अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडि बढौं।