तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारको जित सुनिश्चित भएको छ।
खसेको कुल मतमध्ये दुई हजार ८१ मतगणना गर्न बाँकी रहँदा मेयरमा एमालेका उम्मेदवार टीकाराम खड्का तीन हजार ५२५ र उपमेयरमा स्यानी चौधरी नौ हजार ३४४ मतले अगाडि छन्।
गणना भएको ७२ हजार ३१२ मतमध्ये खड्काले ३० हजार ५६८ मत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीले २७ हजार ४३ मत प्राप्त गरेका छन्।
यसै गरी उपमेयरमा एमालेकी स्यानी चौधरीले २९ हजार ८३५ मत र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले २० हजार ४९१ मत प्राप्त गरेका छन्।