मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिएका आजाद र कुशवाहा पराजित
मधेश प्रदेश सभाबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका शेख अबुलकलाम आजाद र उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन्। उनीहरूले नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए।
जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सभा सदस्य रहेका आजादले रौतहटको गढीमाई नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए। उनी नेपाली कांग्रेसका श्यामप्रसाद यादवसँग ५६८ मतान्तरले पराजित भएका छन्। यादवले आठ हजार ६३१ मत र कलामले आठ हजार ७३ मत प्राप्त गरेका छन्।
कलाम प्रदेश सभामा विकास समितिका सभापति समेत थिए। उनी २०७४ को स्थानीय तहमा समेत पराजित भएका थिए। त्यसपछि प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र ४ (२) बाट स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए। विजयी भएपछि जसपा प्रवेश गरेका थिए।
यस्तै‚ प्रदेश सभा सदस्यबाट राजीनामा दिएका कुशवाहाले सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देवेन्द्रकुमार यादवसँग ५५२ मतले पराजित भएका छन्। यादवले पाँच हजार २९४ मत र कुशवाहाले चार हजार ७४२ मत प्राप्त गरेका छन्।
कुशवाहा २०७४ को प्रदेश सभा निर्वाचनमा सर्लाही ४ (ख) बाट निर्वाचित भएका थिए। उनी मधेश प्रदेश सभामा कांग्रेसको प्रमुख सचेतक थिए।