‘सोती घटनाֺ’ को पीडितका लागि न्याय माग्दै मैनबत्ती प्रज्वलन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीमा हत्या गरिएका नवराज विक सहित ६ जनाको सम्झनामा पाटन दरबार स्क्वायरमा मैनबत्ती बालेर न्यायको माग गरिएको छ।
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले मंगलबार साँझ पीडितहरूले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती बालेका हो।
२०७७ जेठ १० गते जाजरकोटका भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार‚ गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको सोतीका गैरदलित समुदायको भीडले घरेलु हतियारले आक्रमण गरी हत्या गरेको थियो। नवराज साथीहरू सहित चौरहजारी नगरपालिका घर भएकी आफ्नी गैरदलित प्रेमिकालाई विवाह गर्न गएका वेला ६ जनालाई हत्या गरिएको थियो।