देउवा सरकारले पनि देखायो रेलमार्ग र जल यातायातको सपना
केपी ओली नेतृत्वको अघिल्लो सरकारले देखाउँदै आएको रेलमार्गको सपना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि जगाएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रममा रसुवा काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने तथा वीरगञ्ज काठमाडौं रेलमार्ग र काठमाडौंमा मेट्रो रेल परियोजनाको पनि विस्तृत अध्ययन गरिने उल्लेख छ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पूर्व-पश्चिम रेलमार्ग आयोजना विकासको पूर्व तयारी गरिने पनि उल्लेख गरेको छ।
नेपालका नदी प्रणालीमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान तथा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
कैयौं स्थानमा फ्लाइओभर, अन्डरपास लगायत ठूला पूर्वाधार परियोजना निर्माण गरिने पनि नीति तथा कार्यक्रमले उल्लेख गरेको छ ।