स्वास्थ्यकर्मी नै चिन्दैनन् प्रसव फिस्टुला
धरानस्थित बीपी प्रतिष्ठान, काठमाडौंको मोडल हस्पिटल र सुर्खेतको प्रादेशिक अस्पतालमा मात्र प्रसव फिस्टुलाको उपचार हुने भएपनि पहुँच नरहेका विरामी वर्षौंदेखि पीडा सहेरै बस्न बाध्य छन्।
मोरङको सलकपुरस्थित प्रणामी मन्दिरमा सरसफाइको काम गर्दै आएकी ५३ वर्षीया सुजाता पाठक लामो समयदेखि प्रसव फिस्टुला (दिसापिसाब चुहिने समस्या) बाट ग्रस्त छिन्। २०५९ सालमा दोस्रो सन्तान जन्माएपछि उनलाई यस्तो समस्या शुरू भएको थियो। दुई वर्षअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा शल्यक्रिया गरेपछि दिशा चुहिन त रोकियो, तर पिसाब चुहिन छाडेन। अहिले प्रतिष्ठानमै पुनः शल्यक्रिया गराउने तयारीमा रहेकी पाठक भन्छिन्, “खोक्दा, हाच्छिउँ गर्दा पनि पिसाब चुहिन्छ। राम्रोसँग बस्न समेत हुँदैन।”
तेह्रथुम, आठराईकी पाठकका पति बिजुली ‘वायरिङ’ को काम गर्थे। २०५९ मा उनी गर्भवती रहेकै वेला पति बेपत्ता भए। आर्थिक अवस्था कमजोर थियो। कमाएर ल्याउने पति नै नआएपछि बेसहारा बनेकी उनले धरानको एउटा मन्दिरमा आश्रय लिइन्। गर्भावस्थामा पेटभरि खान समेत पाइनन्। त्यति वेला जन्माएका छोराले अहिले १२ कक्षा पास गरिसके। सानैमा बुबाआमा नभएकाले आफ्नै नागरिकता नभएकी उनले छोराको नागरिकता पनि बनाइदिन पाएकी छैनन्। भन्छिन्, “नागरिकता नहुँदा उपचार गर्न पनि समस्या हुँदो रहेछ।”
मोरङ, विराटचोकस्थित मतिपुरकी ६२ वर्षीया दुर्गादेवी थरुनी माझीलाई प्रसव फिस्टुलाले सताएको २५ वर्षभन्दा बढी भयो। यो अवधिमा धेरै ठाउँ धाउँदा पनि उपचार पाइनन्। स्वास्थ्यकर्मीले निको नहुने भन्दै फकाईदिए। अहिले बीपी प्रतिष्ठान आइपुगेकी छन्। “पेटमा रहेको बच्चा पनि बित्यो। मलाई पनि पिसाब बगेको बग्यै हुने रोग लाग्यो,” उनी भन्छिन्, “उपचारका लागि पटनासम्म पुगें, तर निको भएन।”
महोत्तरीकी २२ वर्षीया काजल सिंहले गत चैत १९ मा शल्यक्रियाबाट बच्चा जन्माइन्। त्यसको १४ दिनपछि उनलाई पिसाब नियन्त्रण हुनै छाड्यो, एक साता घर बाहिर निस्किन सकिनन्। स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, “जनकपुरमा उपचार गर्दा निको नभएपछि बीपी आएकी हुँ।”
प्रतिष्ठानमा उपचार गराउन आएका महिलामध्ये कोही भर्खरै फिस्टुला भएका छन् भने कोही वर्षौंदेखि पीडा भोगिरहेकाहरू छन्। चिकित्सकका अनुसार, फिस्टुला दुई प्रकारका हुन्छन्। एउटा, गर्भावस्थामा राम्रो स्याहार नपाएका महिलाले बच्चा जन्माउँदा हुने प्रसव (अब्स्ट्रेटिक) फिस्टुला। अर्को, उपचारका क्रममा स्वास्थ्यकर्मीको त्रुटिका कारण हुने फिस्टुला (आइट्रोजेनिक)। धेरैजसोलाई प्रसव फिस्टुला हुने गर्छ।
प्रतिष्ठानको प्रसूति विभागका फिस्टुला विज्ञ डा. मोहनचन्द्र रेग्मीका अनुसार, गर्भावस्थामा महिलाको राम्रो स्याहार नहुँदा, बच्चा जन्मने वेला लामो व्यथा लाग्दा र तोकिएको मितिभन्दा ढिलो जन्मिँदा बच्चाकै कारण आमाको पिसाब नलीमा प्वाल पर्न सक्छ। तब निरन्तर पिसाब बग्न थाल्छ। ग्रामीण भेगका र अशिक्षित समुदायमा बढी देखिने यो समस्या शिक्षित र सहरी क्षेत्रमा पनि व्याप्त छ। “अहिले पनि समाजमा फिस्टुलाबारे कमै जानकारी छ,” रेग्मी भन्छन्, “अधिकांश स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै पहिचान गर्न सक्दैनन्।”
संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले सन् २०११ मा गरेको अध्ययन अनुसार, नेपालमा प्रसव फिस्टुलाले ग्रस्त चारदेखि पाँच हजार जना उपचारको पर्खाइमा छन् भने प्रति वर्ष दुईदेखि चार सय जना थपिन्छन्। बीपी प्रतिष्ठानमा सरकारले २००९ मा स्थापना गरेको ‘फिस्टुला फ्री नेपाल’ ले पूर्वका विभिन्न जिल्लामा प्रजनन स्वास्थ्य लक्षित शिविर राख्दै आएको छ।
त्यहाँ स्वास्थ्य परीक्षण गराउने महिलामध्ये दुईदेखि तीन प्रतिशतलाई प्रसव फिस्टुला देखिने गरेको छ। तर, नेपालमा यसको उपचार सहज छैन। संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) को सहयोगमा बीपी प्रतिष्ठान, काठमाडौंको मोडल हस्पिटल र सुर्खेतको प्रादेशिक अस्पतालमा मात्र उपचार हुने गर्छ। प्रतिष्ठानमा उपचारसँगै विभिन्न तालीम र विशेषज्ञ चिकित्सक उत्पादनको ‘फेलोसिप’ कार्यक्रम समेत सञ्चालित छ।
‘फिस्टुला फ्री नेपाल’ स्थापनापछि प्रतिष्ठानमा ६ सय जनाको शल्यक्रिया भइसकेको छ। यहाँ विभिन्न दातृ संस्थाको सहयोगमा फिस्टुलाको निःशुल्क उपचार हुने गरेको छ। प्रतिष्ठानका अनुसार, फिस्टुलाको शल्यक्रिया गर्न कम्तीमा ५० हजार रुपैयाँ खर्च हुन्छ भने २१ दिन अस्पताल बस्नुपर्छ। “बिरामीको उपचार मात्र होइन, कुरुवाको बस्ने, खाने व्यवस्थासँगै गाडीभाडा समेत दिने गरिएको छ,” रेग्मी भन्छन्।
पहिले विभिन्न जिल्लाका शिविरमा फेला पर्ने फिस्टुला भएका महिलालाई प्रतिष्ठानमै ल्याएर उपचार गराइन्थ्यो। तर, दुर्गम भेगका महिला शिविरमा समेत आउन नसकेपछि अहिले गाउँ गाउँका स्वास्थ्यकर्मीलाई नै तालीम दिन थालिएको छ। “यस पटक धनकुटाका सबै पालिकाका ४८ स्वास्थ्यकर्मीलाई तालीम दिइएको छ भने संखुवासभामा पनि तालीम सञ्चालन गर्ने तयारी छ,” रेग्मी भन्छन्।
प्रतिष्ठानमा फिस्टुलाको उपचार गराएकाहरूको अवस्था बुझ्न र नयाँ बिरामी खोज्न सामाजिक परिचारिका समेत राखिएका छन्। परिचारिका सुनीता चौधरी प्रदेश १ र २ का विभिन्न गाउँ पुगेर फिस्टुलाको उपचारबारे बताउँछिन्। उनकै सम्पर्कबाट पनि धेरै महिला फिस्टुला उपचार गराउन प्रतिष्ठान पुगेका छन्।
यस पटकको अन्तर्राष्ट्रिय प्रसव फिस्टुला दिवसको नारा ‘फिस्टुलाको अन्त्य: समुदायको सशक्तीकरण र गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने छ। नेपालमा भने सरकारले नै यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन। सरकारले हरेक पालिकाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएर कम्तीमा जिल्ला अस्पतालमै फिस्टुलाको उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने रेग्मी बताउँछन्। उनी भन्छन्, “अहिले पनि २५-३० वर्षदेखि उपचार नपाएर बसेका धेरै महिला भेटिन्छन्। हरेक वर्ष थपिने क्रम उत्तिकै छ। सरकारले यसबारे चाँडै निर्णय लिनुपर्छ।”