वीरगञ्जको मेयरमा जसपाका राजेशमान सिंह विजयी
मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का राजेशमान सिंह निर्वाचित भएका छन्।
पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सिंहले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान मेयर विजयकुमार सरावगीलाई २२ हजार ४४४ मतले पराजित गरेका हुन्। सिंहले ४६ हजार २१५ मत र सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन्। त्यस्तै‚ राष्ट्रिय जनता पार्टीका गिरीश गिरीले तीन हजार ३१३ मत प्राप्त गरेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सिंह तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट मेयरमा प्रतिस्पर्धा गर्दा करीब १२ हजार मत ल्याएर तेस्रो भएका थिए। सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। नेपाली कांग्रेसका अजय द्विवेदी दोस्रो भएका थिए।
सिंह केही महीनाअगाडि मात्रै लोसपा त्याग्दै जसपा प्रवेश गरेका हुन्। जसपाबाट निर्वाचित मेयर सरावगीले एमालेमा जाने निर्णय गरेपछि पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद् प्रदीप यादवले सिंहलाई सरावगीसँग प्रतिस्पर्धा गर्न जसपा भित्र्याएका थिए।