तुलसीपुरमा साढे ५९ हजार मत गणना‚ कसको कति?
दाङको तुलसीपुर उपमहानगरपालिकामा खसेको ७४ हजार ३९३ मतमध्ये ५९ हजार ५६३ मतगणना भइसकेको छ। अहिलेसम्म मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्।
एमालेबाट मेयरका उम्मेदवार टीकाराम खड्का गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीभन्दा एक हजार ६८५ मतले अगाडि छन्। खड्काले २४ हजार ८९१ मत र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन्।
यसै गरी उपमेयरमा एमालेकी स्यानी चौधरीले फराकिलो मतान्तर सहित अगाडि छन्। चौधरीले गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानालाई सात हजार २३९ मतले पछाडि पारेकी छन्। चौधरीले २४ हजार ५७२ मत र रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन्।
१९ वटा वडा रहेका तुलसीपुरको १४ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ। अहिले १२, १५ र १६ वडाको गणना भइरहेको छ। वडा नम्बर १८ र १९ को गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।