पोखरामा मञ्जुलाई ‘पपुलर’ मत
पोखरा महानगरमा उपमेयरकी उम्मेदवार मञ्जु गुरुङले ‘पपुलर’ मत पाइरहँदा एमालेभित्र भने अन्तर्घातको चर्चा भइरहेको छ।
स्थानीय चुनावका लागि उम्मेदवारी दिने समय नजिकिंदै गर्दा नेकपा (एमाले) सचिवालय बैठकले वैशाख १० गते पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गर्यो। पाँच वर्ष उपमेयर भएर काम गरिसकेकी गुरुङले सीधै अस्वीकार गरिन्।
त्यसपछि वैशाख ११ गते बसेको एमाले सचिवालय बैठकले उम्मेदवार परिवर्तन गर्यो। मेयरमा कृष्ण थापा र उपमेयरमा गुरुङलाई नै उम्मेदवार बनाउने निर्णय गर्यो। केन्द्रीय नेताहरूको दबाबपछि गुरुङले एमाले सचिवालयको निर्णय स्विकारिन्। र, उपमेयरमा उम्मेदवारी दिइन्।
त्यति वेला एमाले पोखराका कार्यकर्तामा जनप्रिय नेतालाई उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो। जसले गर्दा दोस्रो दिन नै एमाले सचिवालयले निर्णय उल्ट्याएको थियो। तर, एमाले सचिवालयले गुरुङलाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्न सकेन। जबकि, उनी मेयरको दाबेदार थिइन्।
टिकट वितरण हुँदा देखिएको एमालेको विवाद अझै सकिएको छैन। अहिले मतगणना अन्तिम चरणमा पुग्दा झन् चर्किएको छ। एकातिर, पार्टीले मेयरमा राम्रो उम्मेदवार नउठाएको कार्यकर्ता गुनासो गरिरहेका छन् भने अर्कातिर ‘अन्तर्घात’ को विषय उठेको छ।
एमाले उम्मेदवारहरूले पाइरहेका मतले पनि त्यसमा मलजल गरेको छ। सोमबार साँझसम्म एक लाख २८ हजार ३१६ मत गणना हुँदा मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपमेयरमा एमालेकी गुरुङ जित नजिक पुगेका छन्।
गठबन्धनका आचार्यले ५१ हजार ८८१ मत पाएका छन् भने एमालेका मेयर उम्मेदवार थापाले ४७ हजार ५७१ मत पाएका छन्। जबकि, एमाले उपमेयरकी उम्मेदवार गुरुङले ५४ हजार ३२८ मत पाएकी छन्। कांग्रेसका उपमेयरका उम्मेदवारले ५० हजार ६२६ मत पाएका छन्।
पोखरामा एमाले बलियो मानिएको भए पनि मेयरका उम्मेदवारले भने उपमेयरले जसरी मत पाउन सकेनन्। एमालेका मेयरका उम्मेदवारभन्दा उपमेयरकी उम्मेदवारको मत झण्डै १० हजार बढी छ। उपमेयरकै जति मत मेयरका उम्मेदवारले पाएको भए गठबन्धनका आचार्यभन्दा अगाडि हुन्थे।
थापा निकटका एमाले नेताहरू अन्तर्घात भएको आरोप लगाउँछन्। तर, अर्को समूहका नेता भने उम्मेदवार छनोटमा ध्यान नदिएकाले मत कम आएको तर्क गर्छन्। एमालेका एक नेता भन्छन्, “पार्टीले उम्मेदवार चयनमा ध्यान दिएन। २०७४ सालको जस्तै परिस्थिति सोच्यो। मतदाताको भावना बुझेन।” एउटै व्यक्ति बारम्बार दोहोर्याएकाले नयाँ मतदाता बिच्किएको उनको भनाइ छ।
एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने पनि पार्टीमा अन्तर्घात र कार्यकर्ता अनुशासनमा नबस्दा सोचे अनुरूपको मत नआएको बताउँछन्। “उपमेयर र वडा सदस्यका उम्मेदवारले पाएको मतले पनि हामी पोखरामा कमजोर नभएको स्पष्ट हुन्छ,” न्यौपाने भन्छन्, “मत विपक्ष दलका नेतालाई जानुमा हामीबीचको अनुशासन भङ्ग भएको र कार्यकताले पार्टी प्रणाली नमानेको देखिन्छ।”
मेयर र वडाध्यक्षमा पार्टीकै कार्यकताको मत नआएको उनको भनाइ छ। “हाम्रो प्यानल मतमा वडाध्यक्ष र मेयर ‘मिस’ भइरहेका छ। त्यो भनेको हाम्रो पार्टीको आन्तरिक व्यवस्थापनको कमजोरीले मतान्तर ठूलो देखियो,” उनी भन्छन्, “मेयरमा एमालेलाई सिध्याउनुपर्छ भनेर पार्टीभित्रै नेता लाग्नुभयो। यस कारण अन्तर्घात भएको स्पष्ट छ।”
मत कम आउनुमा एकीकृत समाजवादीका नेता आचार्यप्रतिको लोकप्रियतालाई कतिपयले बुझेका छन्। “प्रमुख कारण त धनराजप्रतिको मानिसको आकर्षण नै हो। धनराजलाई मतदाताले पत्याए,” गठबन्धनका एक नेताले भने, “एमालेकै नेताले धनराजलाई मत हालेको मत प्याटर्नमा देखिएको छ।”
अर्को, दीपक पौडेलको टिकट खोसिएकाले पनि मेयरका उम्मेदवारले मत नपाएको एमालेका अर्का नेता बताउँछन्। “उम्मेदवार मन नपरेर जाने मत चार-पाँच प्रतिशत बुझ्न सकिन्छ। यो भनेको चारदेखि पाँच हजार होला,” ती नेता भन्छन्, “हामीले १०-१५ हजारले जित्ने आधारहरू धेरै थिए। तर, आफ्नै पार्टीका मान्छेले विपक्षी दललाई समर्थन गरेपछि भने मत कम आयो।”
एमाले नेता तथा कार्यकर्ताले मेयरमा खाली छोडेको भए पनि जित्न सक्ने देखिएको उनको भनाइ छ।