जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले) का उम्मेदवार शिवशंकर साहलाई पराजित गर्दै मेयर बनेका हुन्। नेपाली कांग्रेसबाट राजीनामा गरेर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए।
मेयरमा निर्वाचित मनोजले १३ हजार ४६५ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शिवशंकरले नौ हजार ५३२ मत ल्याए। तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले पाँच हजार ३६० मत पाए।
पाँच दलीय गठबन्धनबाट मेयरका उम्मेदवार बनेका जसपाका लालकिशोर साह चौथो स्थान रहे। उनले पाँच हजार १९४ मत ल्याए। लालकिशोर निवर्तमान मेयर हुन्।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन्। उनी एमालेकी उम्मेदवार रुणीदेवी झालाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएका हुन्।
उपमेयरमा निर्वाचित किशोरीले १५ हजार ५२५ मत पाए भने प्रतिस्पर्धी एमालेकी झाले १० हजार ८८५ मत पाइन्।
लोसपाबाट उपमेयरकी उम्मेदवार रीताकुमारी मिश्रले पाँच हजार ८१७ मत पाइन्। उनी निवर्तमान उपमेयर हुन्।