जनकपुरका विद्रोही विजेता
पाँच वर्षअघि जनकपुरधाम उपमहानगरको मेयरमा पराजित मनोजकुमार साह सुडीले यस पटक भने विद्रोह गरेरै विजय हासिल गरेका छन्।
२०७४ सालको जनकपुरधामको मेयरमा मनोज तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का लालकिशोर साहसँग १० हजार मतले पराजित भएका थिए। लालकिशोरले २१ हजार ९०३ मत पाएका थिए भने कांग्रेसबाट उम्मेदवारी दिएका मनोजले ११ हजार १६४ मत पाएका थिए।
कांग्रेसको जनकपुरधाम उपमहानगर कार्यसमितिका सभापति समेत रहेका उनलाई छटपटी भयो। त्यति धेरै मतान्तरले पराजित हुँदा नमज्जा लाग्यो। त्यसको भोलिपल्टदेखि नै चुनावी अभियान थालेको उनी बताउँछन्।
“पराजित भएको दिन नै निर्वाचनमा भएका कमी-कमजोरीको समीक्षा गरें,” उनी भन्छन्, “अनि संगठन विस्तारमा लागें। गाउँ गाउँमा जनसम्पर्क बढाएँ।”
उनी हठी स्वभावका पनि छन्। कुनै पनि काम गर्नुपर्छ भन्ने लाग्यो भने त्यसमा हदैसम्म प्रयास गर्छन्। पाँच वर्षअघि निर्वाचन हारेपछि उनले त्यस्तै प्रयास जारी राखे। “निर्वाचन हारेपछि धेरैलाई लागेको थियो, जनकपुरमा मेरो राजनीति समाप्त भएको छ,” उनी भन्छन्, “मैले यस्तो ठानिनँ। त्यही दिनदेखि अर्को निर्वाचन जित्छु भन्दै अभियानमा लागें।”
जसै चुनाव नजिक आयो, उनले टिकट नपाउने सम्भावना भने बढ्दै गयो। तैपनि, उनले हरेस खाएनन्। उपमहानगर कार्यसमितिदेखि कांग्रेस केन्द्रसम्म लबिइङ गरे। तर, पाँच दलीय गठबन्धन तगारो बन्यो। जनकपुरधाम उपमहानगरको मेयरको उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) को भागमा पर्यो।
पाँच वर्ष लगाएर संगठन बलियो बनाएको ठाउँमा जसपालाई मेयर दिएपछि उनले कांग्रेसबाट राजीनामा दिए। त्यसपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरे। आफ्नै पार्टीको गठबन्धनलाई हराउँदै उनी मेयरमा निर्वाचित भएका छन्। पार्टी छोड्नुपरे पनि जनताले साथ दिएको बताउँदै उनी भन्छन्, “जनताको साथ र समर्थनमा सफल भएँ।”
उनले चुनावका लागि २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए। जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको रङ्गभूमि मैदानलाई स्वच्छ, सफा, हराभरा बनाउने, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण गरी रमणीय स्थलका रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ।
त्यस्तै, उपमहानगरभित्र फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, सार्वजनिक परिवहन, आधुनिक बसपार्क लगायतको विकास गर्ने उनले वाचा गरेका थिए। बाह्य चक्रपथसँगै भौतिक निर्माणमा पनि काम गर्ने बताएका छन्।
उनले ससाना तथा जनतासँग जोडिएका विषय पनि उठाएका छन्। जसमा लामखुट्टे नियन्त्रण, दलित, जनजाति, उत्पीडित तथा सीमान्तीकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाउने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता छ।
मेयरमा निर्वाचित भएपछि उनी चुनावी प्रतिबद्धता पूरा गर्ने बताउँछन्। जनकपुरको फोहोर व्यवस्थापन र शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ। “ल्यान्डफिल साइट बनाउन समय लाग्छ, तर जनताको घर अगाडिबाट फोहोर हटाएर उचित व्यवस्थापन गर्छु,” उनी भन्छन्, “जनतालाई परिवर्तनको अनूभुति गराउँछु।”
उपमहानगरका भ्रष्टाचार अन्त्य गर्ने उनको भनाइ छ। “यसअघिका मेयरबाट जनता आजित भइसकेका थिए। फाँटैफाँटमा घूस दिनुपर्ने जनताको बाध्यता थियो,” उनी भन्छन्। जनताले परिवर्तनका लागि आफूलाई मत दिएको बताउँदै काम गरेर देखाउने उनको भनाइ छ।
‘कांग्रेस नसुध्रिए नयाँ पार्टी खोल्छु’
पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका मनोज फेरि कांग्रेसमा फर्किन सक्ने बताउँछन्। तर, त्यसका लागि कांग्रेस नेताहरूले आत्मालोचना गर्नुपर्ने उनको कथन छ।
उनी स्वतन्त्र उम्मेदवारी दिएसँगै कारबाहीमा परेका छन्। कांग्रेसले स्थानीय चुनावमा पार्टी निर्देशन विपरीत उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।
कांग्रेसमा वैचारिक विचलन आएको जनाउँदै अब सुधार्नुपर्ने वेला आएको उनको भनाइ छ। “कांग्रेस नसुध्रिए नयाँ पार्टी खोल्छु,” उनी भन्छन्।