‘नाबालिग बलात्कारमा हदम्याद हटाइयोस्, मतियारलाई पनि कारबाही होस्’
राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले नाबालिग बलात्कार सम्बन्धी अपराधमा हदम्यादको प्रावधान हटाउनुपर्ने बताएकी छन्।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले भनिन्, “बलात्कारमा परेपछि मानसिक र शारीरिक पीडामा गुज्रिनुपर्ने भएकाले बोल्न समय लाग्छ, त्यस कारण नाबालिग बलात्कारको हकमा हदम्याद हटाइयोस्।”
कानूनमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधान छ। ३६५ दिनभित्र अनुसन्धान हुने तर ३६६ दिनपछि कानूनै नलाग्ने प्रावधान व्यावहारिक नभएको सांसद पौड्यालले बताइन्।
अध्यादेश ल्याएर वा तुरुन्तै ऐन संशोधन गरेर हदम्यादको प्रावधान हटाउनुपर्नेमा उनले जोड दिइन्।
आठ वर्ष पहिले सौन्दर्य प्रतियोगिता आयोजकले बलात्कार गरेको अपराधमा मतियारलाई पनि कानूनी कारबाही हुनुपर्नेमा सांसद पौड्यालले बताइन्। पीडित युवतीले त्यति वेलै चर्चित व्यक्तिलाई यो घटनाबारे जानकारी गराइसकेको तर उनले कानूनी उपायका लागि सहयोग नगरेकाले कारबाही गर्नुपर्ने उनको भनाइ छ।
राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, “बलात्कार जस्तो अपराध लुकाउन सहयोग गर्ने मतियार जोसुकै भए पनि कारबाही हुनैपर्दछ।”