रूख चिह्नमा खसेको मत आफ्नोमा गणना गर्नुपर्ने माग सहित एकीकृत समाजवादीका उम्मेदवारले दिए निवेदन
नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौं महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले रूख र कलम चिह्न दुवैमा खसेको मत आफूले पाउनुपर्ने माग सहित निवेदन दिएका छन्।
नेकपा (एमाले) उम्मेदवार सुनिता डंगोलले आफूलाई ३० हजार मतले पछाडि पारेपछि श्रेष्ठले यस्तो माग गरेका हुन्। निर्वाचन अधिकृतलाई सम्बोधन गरेर गरिएको निवेदनमा श्रेष्ठले भनेका छन्, “...प्रतिस्पर्धी उम्मेदवार नै नभएको कलम र रूख चिह्नमा मत सङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिह्नको मत सङ्केतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दोहोर्याई मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानूनी आधारमा गणना गर्न मतगणना अधिकृतलाई आदेश गरिपाउँ।”
जेठ ९ गते मध्याह्नसम्म डंगोलले ४६ हजार ५८० मत प्राप्त गरेकी छन् भने श्रेष्ठले १६ हजार १४६ भोट पाएका छन्। काठमाडौं महानगरमा पाँच दलीय गठबन्धनबाट मेयरमा कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा एकीकृत समाजवादीका श्रेष्ठ उम्मेदवार छन्।
उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले दिएको निवेदन:
श्री निर्वाचन अधिकृतज्यू,
श्री निर्वाचन अधिकृतको कार्यालय,
काठमाडौं महानगरपालिका, काठमाडौं।
विषयः मतगणना दोहोर्याई गरिपाऊँ सम्बन्धमा।
म निवेदक लाग्ने दस्तूर सहित स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम निम्नलिखित व्यहोराको निवेदन गर्दछु।
१) मिति २०७९/०१/३० मा भएको स्थानीय तहको निर्वाचनमा म उजूरीकर्ता काठमाडौं महानगरपालिकाको लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट उप-मेयर पदको उम्मेदवार हुँ। दफा २६ बमोजिम मैले चुनाव चिह्न कलम पाएको छु भने नेपाली कांग्रेसले पाएको रूख चुनाव चिह्नबाट सो उप-मेयर पदमा उम्मेदवारी नपरी खाली रहेको छ।
२) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तोकिए बमोजिम तयार गरी प्रकाशन गर्नुपर्ने र दफा २६ मा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भएका उम्मेदवार र दलले निर्वाचन चिह्न पाउने कानूनी व्यवस्थाको आलोकमा दफा ५१ (१) (ङ) लाई हेरिनु र व्याख्या गरिनुपर्ने हुन्छ।
क) यसरी उम्मेदवारी परी, अन्तिम भई, निर्वाचन चिह्न प्राप्त गरेका उम्मेदवारलाई नै मतदाताले मतदान गर्ने हो। मतपत्रमा उम्मेदवार नै नभएका खाली कोठामा निर्वाचन चिह्न राखिनु दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय विपरीत हन्छ। मतगणनाको सन्दर्भमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५१ (१) (ङ) को उल्लंघन गरी मतगणना गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५१ (१) (ङ) बमोजिम ‘उम्मेदवार नभएको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको मतपत्र’लाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिस्पर्धीद्वारा नै नभएका कलम र रूख चिह्नमा मत सङ्केत भए पनि म उम्मेदवार भएको कलम चिह्नको मत सङ्केतलाई समेत बदर गरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उप-विजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ।
तसर्थ स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुने गरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिह्नमा मत सङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिह्नको मत सङ्केतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्याई मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानूनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ।
३) व्यहोरा साँचो हो। झूट्ठा ठहरे कानून बमोजिम सहुँला, बुझाउँला|
निवेदकको-
नाम थरः रामेश्वर श्रेष्ठ
मतदाता परिचयपत्र नंः २५८६४७६
सम्पर्क ठेगानाः का.म.पा. वडा नं-१२
मितिः २०७९/०२/०८