वीरगञ्जमा ८ हजार मतले पछि परे विजय सरावगी
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजय सरावगी आठ हजारभन्दा बढी मतले पछाडि परेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, वीरगञ्जमा ९३ हजार ७८२ मत खसेका थिए। त्यसमध्ये सोमबार १ः४५ बजेसम्म ७८ हजार ७८२ मत गणना भएको छ।
मेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले २८ हजार ५१५ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सरावगीले १९ हजार ६७९ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरीश गिरीले दुई हजार ८५७ मत पाएका छन्।
२०७४ सालको स्थानीय चुनावमा सरावगी मेयरमा निर्वाचित भएका थिए। अहिले अग्रता लिइरहेको सिंह त्यति वेला मेयरमा पराजित भएका थिए।
त्यति वेला तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार भएका सरावगीले १९ हजार ३९३ मत पाएका थिए भने राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका सिंहले १२ हजार १६५ मत पाएका थिए।
त्यस्तै, वीरगञ्जको उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले अग्रता लिइरहेका छन्। गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलमले २४ हजार ९१५ मत पाएका छन् भने प्रतिस्पर्धी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ६ हजार ५६८ मत पाएका छन्। त्यस्तै, राप्रापकी विना जयसवालले चार हजार ८३४ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले तीन हजार ४५८ मत पाएकी छन्।