पोखरामा सवा लाख मतगणना, कसको कति?
पोखरा महानगरपालिकामा सवा लाख मतगणना हुँदा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, सोमबार दिउँसो १ः३० बजेसम्म एक लाख २५ हजार २५ हजार ५२० मतगणना भएको छ भने १७ हजार ७०६ मत गन्न बाँकी छ। अहिलेसम्म मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
उनी प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णबहादुर थापाभन्दा चार हजार २९ मतले अगाडि छन्। एकीकृत समाजवादीका आचार्यले ५० हजार ६१२ मत पाएका छन् भने एमालेका थापाले ४६ हजार ५८३ मत पाएका छन्।
मेयरमा राप्रपाका शंकर खराल तेस्रो नम्बरमा छन्। उनले पाँच हजार ३३७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस) ले दुई हजार ८६४ मत पाएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ तीन हजार ६८७ मतले अगाडि छन्। उनले ५३ हजार १७३ मत पाएकी छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४९ हजार ५८६ मत पाएकी छन्।
राप्रपाकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेल तेस्रो नम्बरमा छन्। उनले पाँच हजार ३१८ मत पाएकी छन्।