देशभर ३३ हजार ८५८ जनप्रतिनिधि निर्वाचित, कुन प्रदेशमा कति?
स्थानीय तह चुनावबाट अहिलेसम्म देशभर ३३ हजार ८५८ जनप्रतिनिधि निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, केही स्थानीय तहको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। केही महानगरपालिका र मतदान स्थगन भएका स्थानीय तहको मात्रै मतगणना सकिन बाँकी छ।
वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनाव भएको थियो। अधिकांश स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन्।
अहिलेसम्म २६० मेयर र ४५४ अध्यक्ष निर्वाचित भएका छन्। त्यति नै सङ्ख्यामा उपमेयर र उपाध्यक्ष निर्वाचित भएका छन् भने ६ हजार ५१० वडाध्यक्ष चुनिएका छन्। यसै गरी ६ हजार ५०७ महिला सदस्य, ६ हजार ३९४ दलित महिला सदस्य र १३ हजार १९ वडाध्यक्ष निर्वाचित भएका छन्।