भरतपुरमा २१ हजार ६१४ मत गन्न बाँकी‚ रेणु दाहाल करीब १० हजार मतले अघि
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार रेणु दाहालले करीब १० हजार मतले अग्रता लिएकी छन्।
एक लाख २७ हजार ८३९ मत खसेको भरतपुरमा एक लाख ६ हजार २२५ मतगणना भइसकेको छ। अहिलेसम्म दाहाल नौ हजार ९३० मतले अगाडि छन्। अब २१ हजार ६१४ मत गन्न बाँकी छ।
मेयरमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दाहालले ४३ हजार ७४३, नेकपा (एमाले) का विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३७७ मत प्राप्त गरेका छन्।
यस्तै‚ उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी १८ हजार ३२५ मतले अगाडि छन्। अधिकारीले ४५ हजार ७४ र राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत प्राप्त गरेका छन्।
हाल वडा नम्बर २३ र २५ को मतगणना भइरहेको छ। महानगरपालिकामा २९ वडा छन्। यी दुई वडाको मत गणनापछि चार वडाको मात्र गणना गर्न बाँकी रहन्छ।