पोखरामा एक लाख १९ हजार मतगणना‚ कसको कति मत?
कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्।
एक लाख १९ हजार ३१९ मतगणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन्। यस्तै‚ एमालेका कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५० हजार २६० मत सहित अग्रता कायमै राखेकी छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४७ हजार ४७० मत प्राप्त गरेकी छन्।
महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडाका अध्यक्षमा कांग्रेस विजय भएको छ। सात वटा वडाका अध्यक्षमा एमाले विजय भएको छ। अहिले वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ। दुई लाख सात हजार ७१२ मतदाता रहेको पोखरामा एक लाख ४३ हजार २१३ जनाले मतदान गरेका थिए।