‘दिलीपका परिवार र हामीलाई अझै ज्यानको धम्की आइरहेको छ’
‘हामी अहिले पनि जोखिममा छौं। पैसा र शक्ति भएपछि जे पनि हुन्छ भन्ने छ। जस्तोसुकै जोखिम मोल्नुपरे पनि न्यायका लागि लड्छौं।’
वातावरण संरक्षणमा सक्रिय धनुषाको मिथिलाका दिलीपकुमार महतोको हत्यामा संलग्नलाई कारबाही गर्न वातावरण संरक्षण अभियन्ता र युवाले माग गरिरहेका छन् । यस सम्बन्धी मुद्दाको २०७९ जेठ ९ गते धनुषा जिल्ला अदालतमा पेशी पनि तोकिएको छ। यसै विषयमा युवा अभियन्ता राहुलराज यादवसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
संरक्षणमा सक्रिय दिलीपकुमार महतोको हत्यामा संलग्नलाई कारबाहीका लागि काठमाडौंमा पनि प्रदर्शन गर्नुभयो। तपाईंहरूका माग के हुन्?
हाम्रा तीन वटा माग छन्। पहिलो दिलीपलाई वातावरण शहीद घोषणा गरियोस्। दोस्रो, हामीलाई त्यहाँको स्थानीय प्रशासनमा शङ्का भएकाले सीबीआईले यो घटना छानबिन गरोस्। र तेस्रो, दोषीहरू उम्किन नपाऊन्। कानून अनुसार कडा सजाय होस्। भोलि अर्को दिलीपको ज्यान नजाओस्।
उहाँ त इन्जिनीयरिङ पढेको मान्छे, कसरी संरक्षणमा लाग्नुभयो?
दिलीप वातावरण संरक्षणबारे सचेत युवा थिए। २०७५ सालमा भारतबाट सिभिल इन्जिनीयरिङ पढाइ गरेर धनुषा फर्किएका थिए। समाजका लागि केही गर्न सकिन्छ भनेर सधैं सोच्थे। यो घटना हुनुभन्दा वर्ष अघिदेखि नै चुरे बचाउने अभियान थालेका थिए। चुरे क्षेत्रका नदीनाला उत्खनन गरेर भूमि बिगारे र संरक्षण गरेनन् भनेर धनुषाधाम नगरपालिकाको मेयरको विरोध गर्दै पत्रकार सम्मेलन पनि गरेका थिए। उनी चुरे संरक्षणका लागि निडर भएर बोल्थे।
यस घटनालाई हत्याभन्दा दुर्घटना भनेर ढाकछोप गर्न खोजेको सुनियो। कसरी लिइरहनुभएको छ?
दिलीपको हत्या भएको बिहान ४ बजे पनि अवैध रूपमा नदी उत्खनन भइरहेको थियो। त्यो दिन भएको कुटपिटका विषयमा वडा सदस्यलाई भनेका थिए। पछि प्रहरी आएर पनि मुचुल्का नउठाई लाश उठाएर लगे। परिवारलाई लाश हेर्न पनि दिएनन्।
त्यही क्रसर सञ्चालकले दिलीपलाई सम्झाऊ, नत्र ज्यानमा टिपर कुदाइदिन्छु भनेर उनका बुबा रामजीवन महतोलाई धम्की दिएका थिए। यी सबै कुरा हेर्दा दिलीपको हत्या भएको प्रष्ट छ।
दिलीप नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल, नगर कमिटीको सदस्य थिए। उनको हत्या भएको थाहा पाएपछि युवाको टोली गएर घरपरिवार, प्रहरी र स्थानीयसँग बुझ्यौं। हामीले ‘जस्टिस फर दिलीप’ भनेर अभियान पनि चलायौं। उनको नाममा प्रतिष्ठान पनि बनेको छ। हामी अभियान चलाउनेलाई पनि प्रलोभन, धाक, धम्की आयो, तर हामी उनलाई न्याय दिन लागेका छौं।
तीन वर्ष भइसक्यो। यसमा संलग्नलाई कारबाही हुनेमा कति विश्वस्त हुनुहुन्छ?
यो घटनामा धेरै चलखेल भएको छ। घटनाका आरोपीहरू नै छाडिने, परिवारलाई थाहा नदिई लाश उठाउने, मुचुल्का नउठाउने भएपछि हामीलाई स्थानीय प्रशासनमाथि शङ्का भयो। त्यसैले यो घटनाको अनुसन्धान सीआईबीले गरोस् भन्ने माग गरेका थियौं, तर त्यस्तो भएन।
रातारात पत्रकार सम्मेलन गरेर घटनामा संलग्न भएकालाई सार्वजनिक गरियो। आरोपितमध्ये तीन जना घरौटीमा पनि छुटे। धरौटीमा छुटेकाहरूले नै दिलीपको परिवारलाई धम्क्याउने गरेका छन्।
यो मुद्दाको आइतबार धनुषा जिल्ला अदालतमा पेशी तोकिएको छ। दिलीपकुमार महतो प्रतिष्ठान खोलेर फुल्गेन महतो लगायत न्यायका लागि लडिरहेका छन्। हामी यूथ एशोसिएशनमा संलग्न र वातावरण संरक्षण अभियन्ता पनि न्यायका लागि लागिरहेका छौं। आश छ, अदालतले न्याय दिनेछ।
हत्याका आरोपीहरूले घरपरिवारलाई धम्की दिने गरेको भन्ने कुरा आएको छ। तपाईंहरूले कसरी आवाज उठाइरहनुभएको छ?
२०७५ पुस २५ गते बिहान धनुषाको औरी खोलामा यो घटना घट्यो। म लगायत केही साथीहरू त्यही दिनबाट यूथ एशोसिएशन नेपाल मार्फत आवाज उठाइरहेका छौं। वातावरण क्षेत्रमा काम गर्ने अविशेष श्रेष्ठ, तनुजा पाण्डे, फुल्गेन महतो लगायत सबैले आ-आफ्नो ठाउँबाट आवाज उठाउनुभएको छ। यसरी हामी अलग अलग क्षेत्र र स्थानबाट एकजुट भएर न्यायका लागि आवाज उठाइरहेका छौं।
हामीले २०७५ सालदेखि नै विरोध कार्यक्रम गर्दै आएका छौं। जनकपुर, धनुषा, काठमाडौंमा प्रदर्शन गर्यौं। मानव अधिकार आयोगलाई पनि ध्यानाकर्षण गरायौं। वन तथा वातावरण मन्त्रालय, चुरे संरक्षण संलग्न संघसंस्था लगायत थुप्रैलाई न्यायका लागि ज्ञापनपत्र बुझाएका छौं। तर, अहिलेसम्म खै के कारणले हो, न मुद्दा अघि बढ्छ, न त न्याय पाइएको छ।
दिलीपलाई वातावरण शहीद घोषणा गर्न पनि माग गरिरहनुभएको छ। किन आवश्यक पर्यो?
संविधानमा वातावरण शहीदबारे उल्लेख छैन, तर मधेश आन्दोलनमा राज्यको हस्तक्षेपमा ज्यान गएका व्यक्तिलाई शहीद घोषणा गरिएको छ। अन्यत्र पनि त्यस्तै भएको छ। त्यसैले चुरे दोहन रोक्नका लागि विरोध गरिरहेको र संरक्षणकै क्रममा ज्यान गएकाले वातावरण शहीद घोषणा गर्न माग गरेका हौं। यसले नयाँ पुस्तालाई संरक्षणमा साहस बढाउनेछ।
तपाईं त उहाँको छिमेकी पनि हुनुहुन्छ। उहाँको परिवारले सडक र अदालत धाउन थालेको तीन वर्ष भइसक्यो। कस्तो छ परिवारको अवस्था?
अहिले पनि नदीनाला उत्खनन रोकिएको छैन। यसको संरक्षणमा दिलीपका दुई बहिनी र परिवार लागेका छन्। दिलीप महतो प्रतिष्ठान खोलिएको छ, जसको अध्यक्ष उनकी बहिनी नै छन्। पूरै परिवार लडिरहेको छ। मधेशमा जहाँ आन्दोलन भएको छ, परिवार त्यही पुगेको छ। दिलीपका आमाबुबा भने छोरालाई न्याय दिलाउन सकिंदैन कि भनेर चिन्तित छन्। हामीले हौसला दिने गरेका छौं।
क्रसर सञ्चालनमा बाधा पुर्यायो भनेर सञ्चालकले परिवारजन विरुद्ध मुद्दा हाले। त्यसमा नौ दिनमै सुनुवाइ भयो। परिवारलाई स्पष्टीकरण सोधियो। तर, दिलीपको हत्याको मुद्दा तीन वर्षसम्म टुङ्गो लागेको छैन। पाँच पटक पेशी चढ्यो, चार पटक त स्थगित नै भयो।
अर्को, परिवारलाई आर्थिक समस्या छ। त्यसमाथि आरोपितले ज्यानको धम्की दिइरहेका छन्। मुद्दा फिर्ता गर्न दबाब दिंदै आएका छन्।
अहिले त्यो क्षेत्रको अवस्था कस्तो छ?
अहिले पनि क्रसर सञ्चालनमा छ। २०७७ वैशाख १ गते अदालतले नै सञ्चालन गर्न आदेश दियो। अहिले पनि नदी दोहन भइरहेको छ।
अर्को, नदी दोहनका क्रममा बनेका खाल्डोमा बालबालिका खस्दै आएका छन्। मृत्युको पासो भएको छ। यो तराईतिरको चुरे क्षेत्रमा धेरै ठूलो समस्या छ। कति धेरै बालबालिकाको मृत्यु नै भएको छ।
उनलाई न्याय दिलाउन राज्य कति संवेदनशील पाउनुभएको छ?
स्थानीय, प्रदेश र संघीय सरकारका कार्यालय र मन्त्रालय जाँदा सबैले न्यायको आश्वासन दिनुहुन्छ। त्यहाँबाट सकारात्मक विचार र कारबाहीका लागि पहल गर्छौं भन्नुहुन्छ। तर, मुद्दा बीचमै रोकिन्छ। पहल गर्छौं भन्नेहरू दोस्रो पटक सम्पर्कमै आउँदैनन्। सरकारी निकायले वास्ता नगरे पनि हामी रोकिनेवाला छैनौं।
तपाईंहरू आवाज उठाइरहनुभएको छ। तपाईंहरूलाई कत्तिको जोखिम छ?
यो क्षेत्रमा जोखिम नभएको भए दिलीपको हत्या हुने थिएन। अस्ति जनकपुरमा हाम्रो साथीले यस्तो विषयमा आवाज उठाउँदा हतियार सहित आएको ६०-७० जनाको समूहले आक्रमण गर्यो। हाम्रा तीन जना साथी घाइते भए। यसले पनि हामी कति दबाबमा छौं, बुझ्न सकिन्छ। हामी अहिले पनि जोखिममा छौं। पैसा र शक्ति भएपछि जे पनि हुन्छ भन्ने छ। जस्तोसुकै जोखिम मोल्नुपरे पनि न्यायका लागि लड्छौं।
भिडिओ तथा तस्वीरहरू: मोनिका देउपाला/हिमालखबर