महिनावारी हुँदा शिक्षिका नै विद्यालय जाँदैनन्
बाजुरामा शिक्षिका नै महिनावारीको समयमा देउता लाग्ने डरले विद्यालय नजाने गरेको खुलेको छ ।
सदरमुकाम मार्तडी नजीक रहेको जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको प्रधानाध्यापक प्रकाश ऐडीले बताए ।
विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको उनकाे भनाइ छ ।
पुराना पुस्ताले महिनावारीको समयमा विद्यालय नजान प्रोत्साहित गरे पनि युवाहरुले त्यसको विरोध गर्दै आएका छन् ।
तर शिक्षिकाहरु नै अन्धविस्वास मानेर विद्यालय जाँदैनन ।
स्थापनाकालदेखि नै यो प्रथा चलिआएकाले विद्यार्थीहरु यसबाट प्रत्यक्ष मारमा परेको प्रधानाध्यापक ऐडीले बताए ।
कहिलेकाहीँ आफू तालीम, गोष्ठीलगायतका काममा गएको समयमा दुवै जना शिक्षिका महिनावारी भएर विद्यालयको पढाइ नै ठप्प हुने गरेको उनको भनाइ छ ।
एक पुरुष र दुई महिला शिक्षक रहेको यो विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म पढाइ भइरहेको छ ।
हाल १८ जनाको सङ्ख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न् ।