पूर्व सहसचिव नागेन्द्र झा मेयरमा पराजित
नेपाल सरकारका पूर्व सहसचिव नागेन्द्र झा सर्लाहीको बलरा नगरपालिकाको मेयरमा पराजित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका झाले मेयरका प्रत्याशीहरूमध्ये चौथो स्थान प्राप्त गरे। निर्वाचन आयोगका अनुसार, उनले दुई हजार ४५५ मत प्राप्त गरे।
झाले भन्दा झण्डै दोब्बर मत प्राप्त गरेका रामाशंकरप्रसाद कुशवाहा बलराको मेयरमा निर्वाचित भए।
पर्साको प्रमुख जिल्ला अधिकारी हुँदा आफ्नो नागरिकताको जन्ममिति फेरेको, किर्ते कागजात तयार पारेको लगायतको आरोप लागेका झा अवकाश लगत्तै विभिन्न दलमा चहार्दै हिंडे। स्थानीय चुनावभन्दा केही महीना पहिला नेकपा (एमाले) प्रवेश गरेका झा चुनावको मुखमा जसपामा आएर टिकट लिएका थिए।