धरानमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अब दुई हजार ५२१ मत गन्न बाँकी छ भने साम्पाङले चार हजार १९० मतको अग्रता लिइसकेका छन्।
आइतबार मध्याह्नसम्म ६० हजार ३७७ मतगणना भएको छ। मेयरका स्वतन्त्र उम्मेदवार साम्पाङले १९ हजार ३८८ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार १९८ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले) की उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार २७७ मत पाएकी छन्।
उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) उम्मेदवार आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन्। उनले १९ हजार ६२ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका पदमबहादुर लिम्बूले १६ हजार ८१५ मत पाएका छन्।