काठमाडौंमा बालेनले कटाए ४० हजार मत
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को मत ४० हजार नाघेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आइतबार मध्याह्नसम्म एक लाख १३ हजार ३२७ मतगणना भएको छ। अब ७७ हजार ८५९ मत गन्न बाँकी छ।
अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार साहले ४० हजार २१२ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन्। सिंहले २२ हजार ८६४ मत पाएकी छन्।
नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। उनले २२ हजार ३८७ मत पाएका छन्। काठमाडौंका ३२ वडामध्ये १४ वडाको मतगणना सकिएको छ।
अहिले आठ वडाको मतगणना भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना भइरहेको छ। यी वडाको गणना सकिएपछि वडा नं. १४ देखि २२ सम्मका वडाको गणना हुनेछ।
अहिलेसम्म गणना सम्पन्न १४ मध्ये दुई वडामा मात्रै साहले कम मत पाएका छन्। वडा नंं २७ मा कांग्रेस उम्मेदवार सिंहले र वडा नंं २८ मा एमालेका स्थापितले धेरै मत पाएका थिए।
वडा नं. २७ मा सिंहले ९८४, स्थापितले ९८१ र साहले ५५२ मत पाएका थिए। त्यस्तै, वडा नं. २८ मा स्थापितले ७४१, साहले ७१७ र सिंहले ७१० मत पाएका थिए।