किन सङ्कटमा पर्दै छ वन कुकुर?
वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी, विष तथा पासो थापेर मार्ने प्रवृत्ति वन कुकुर संरक्षणका लागि चुनौती बनेका छन्।
नेपालमा वन्यजन्तुको कुरा गर्दा सबैले प्रायः बाघ, चितुवा, हात्ती, गैंडाको नाम लिन्छन्। वन कुकुरबारे सोधे धेरैले अनभिज्ञता दर्शाउँछन्। अति महत्त्वपूर्ण तर विरलै देखिने यो जन्तु संरक्षण अभावमा सङ्कटमा फस्दै छ।
चितवन राष्ट्रिय निकुञ्ज वरिपरि मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने र जङ्गलमा निर्भर रहने आदिवासी जनजाति सामुदायले भने वन कुकुर सजिलै चिन्छ। यसलाई देख्नेहरू ठूलो, गोलाकार कान, कालो थुतुनो (मुख), छिनेको कम्मर र फुर्तिलो शरीर भएको, झुप्प परेको अनि टुप्पातिरको भाग कालो रहेको पुच्छरयुक्त र रातो-खैरो रङको जन्तु भनी वर्णन गर्छन्।
वन कुकुर विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको सबैभन्दा लोपोन्मुख स्तनधारी प्रजाति हो। नेपालका विभिन्न ठाउँ तथा भाषा अनुसार यसलाई ब्वाँसो, फार च्यु, बन्सा कुत्ता, वन नागी आदि भनिन्छ। यसको वैज्ञानिक नाम ‘क्युन अल्पाइनस’ र अंग्रेजी नाम ‘ढोल’ वा ‘एशियाली वाइल्ड डग’ हो।
वन कुकुर नेपाल, भारत, चीन, बाङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनेशिया, मलेशिया, म्यानमार, थाइल्यान्ड र लाओस गरी ११ वटा देशमा पाइन्छ। यो जन्तु समूहमा बस्न रुचाउँछ। यिनको समूहको नेतृत्व एक जोडीले गरेको हुन्छ‚ जसलाई ‘अल्फा जोडी’ भनिन्छ। एक समूहमा दुईदेखि ३० को सङ्ख्यामा रहने यिनीहरू प्राय: साँझ र बिहानपख सक्रिय हुन्छन्।
समुद्री सतहदेखि ५३ सय मिटरसम्म सुक्खा पतझड, ओसिलो पतझड, उष्ण सदाबहार, उष्ण वर्षा वन, खुला मैदान आदि वन कुकुरका लागि उपयुक्त वासस्थान मानिन्छ। नेपालमा भने समुद्र सतहदेखि ४३ सय ५० मिटरसम्म पाइने एक अध्ययनमा उल्लेख छ।
वन कुकुर संरक्षित क्षेत्रभित्र, बाहिर अनि जैविक मार्गहरूमा समेत पाइएको छ। तराईमा चितवन, पर्सा, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ भने उच्च भूभागमा कञ्चनजंघा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने पुष्टि भएको छ।
विश्वभर प्रजननयोग्य वन कुकुर ९४९ देखि २२१५ वटासम्म रहेको तथ्याङ्क छ। तर‚ नेपालमा खासै अध्ययन/अनुसन्धान नभएकाले यकिन सङ्ख्या थाहा छैन। साथै‚ हामीकहाँ अहिलेसम्म यसको वासस्थान संरक्षणका कार्यक्रम बनाइएको छैन। तराई क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरी बाघका लागि छुट्याइएको वासस्थानले वन कुकुर जोगाउन पनि योगदान गरेको देखिन्छ। तर‚ अध्ययन अनुसार वन कुकुरको सङ्ख्या बढाउन र संरक्षण गर्न बाघको भन्दा पाँच गुणा बढी वासस्थान क्षेत्र चाहिन्छ।
वन कुकुरलाई कुशल शिकारीका रूपमा पनि चिनिन्छ। सामूहिक रूपमा शिकार गर्ने यिनीहरू चारैतिरबाट घेरा हाली शिकार जीवित रहँदै पछाडिको भागबाट खान शुरू गर्छन्। यिनको शिकारमा मुसा प्रजातिदेखि जरायो, चित्तल, जंगली बँदेल, रतुवा तथा गौरी गाईसम्म पर्छन्। मृग प्रजाति मन पर्ने आहारा भए पनि यिनले कहिलेकाहीं फलफूल र घाँस समेत खान्छन्। चरनमा लगिएका भैंसी, गाई, भेडा, बाख्रा आदिको शिकार पनि गर्छन्।
एक शताब्दीयता वन कुकुरको वासस्थानमा ७५ प्रतिशतले ह्रास आउँदा यिनको सङ्ख्या समेत घटिरहेको छ। वासस्थान टुक्रिंदा पहिलेभन्दा थोरै सङ्ख्यामा छरिएर बसेका यिनको संरक्षण चुनौती बनिरहेको छ। संरक्षित क्षेत्रभित्र तथा बाहिरका वनमा अतिक्रमण (गाउँबस्ती) बढ्नु, आहाराजन्य प्रजातिको सङ्ख्या घट्नु, विष तथा पासो प्रयोग गरी मार्ने प्रवृत्ति बढ्नु, यसको आवतजावतका लागि वन्यजन्तु अनुकूल विकास पूर्वाधार नबन्नु, घरपालुवा कुकुरबाट रोगहरू सर्नु यसको संरक्षणका चुनौती हुन्।
साथै, घरपालुवा वस्तुलाई आक्रमण गरेको प्रतिशोधमा मान्छेहरूले पनि वन कुकुर मार्ने गरेको सुनिन्छ। समाजमा वन कुकुरले आँखामा पिसाब गरिदिए अन्धो हुने तथा शरीर नाघिदिए अपाङ्ग हुने जस्ता अन्धविश्वासले पनि यसको संरक्षणमा जटिलता थपिदिएका छन्।
किन गर्ने संरक्षण?
वन कुकुरको संरक्षण यस कारण पनि अत्यावश्यक छ कि यो ‘क्यानिड’ परिवारमा पनि ‘क्युन’ वर्गको अन्तिम प्रतिनिधि हो। पारिस्थितिकीय प्रणाली साथै जैविक विविधतामा पनि वन कुकुरको महत्त्वपूर्ण योगदान छ। प्रमुख शिकारी प्रजाति भएकाले यसले आहाराजन्य प्रजातिहरूको नियमनमा सहयोग पुर्याउँछ।
यस विना आहाराजन्य प्रजातिको वृद्धि अनियन्त्रित भई मानवसँगको द्वन्द्व अझ बढ्न सक्छ। त्यसैले वन कुकुरको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक छ।
वन कुकुर बाघ बाहेक एक मात्र सङ्कटापन्न ठूलो मांसाहारी प्रजाति हो। हामीकहाँ यसलाई कानूनी हिसाबले कम महत्त्व दिइएको छ। तर‚ अन्तर्राष्ट्रिय कानून बमोजिम यो साइटिसको अनुसूची २ र आईयूसीएनको सङ्कटापन्न वर्गमा पर्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यसलाई मार्ने, घाइते बनाउने वा क्षति पुर्याउनेलाई संरक्षित वन्यजन्तु बाहेकलाई हुने कसूर अनुसार २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। वन कुकुरको आक्रमणबाट मान्छेको मृत्यु भए वा पशुधनमा क्षति पुगे वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ तथा त्यसको तेस्रो संशोधन, २०७५ अनुसार राहत व्यवस्था गरिएको छ।
वन कुकुरको पारिस्थितिकीय प्रणाली तथा वितरणबारे अरू वन्यजन्तुको तुलनामा थोरै अध्ययन भएको छ। यसको संरक्षण हामी सबैको दायित्व हो। सर्वप्रथम त यसको प्रकृतिक वासस्थान संरक्षण तथा संवर्द्धन गर्नुपर्छ, अध्ययन-अनुसन्धान बढाउनुपर्छ। यसको महत्त्व र आवश्यकताबारे सम्बद्ध निकाय र समुदायले वेलैमा बुझे मात्र संरक्षणका काम थाल्न सहज हुन्छ। यसका लागि वन कुकुर पाइने ठाउँ वरपरका बस्तीमा जनचेतनामूलक र समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्छ।
विश्वव्यापी रूपमा यसको महत्त्व दर्शाउन हरेक वर्ष मे २८ मा विश्व वन कुकुर दिवस मनाइन्छ। दिवस मनाउनुको मुख्य कारण वर्षको एक दिन भए पनि मानिसहरूलाई वन कुकुरको संरक्षणबारे बुझाउन सकियोस् भन्ने हो। प्रत्येक वन्यजन्तुलाई प्रकृतिमा बाँच्ने अधिकार हुन्छ। यी सबैको संरक्षण हामी मानवकै अस्तित्व बचाउनका लागि पनि आवश्यक छ। त्यसैले वन कुकुरको संरक्षणका लागि सहकार्य गरौं। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्ने सङ्कटापन्न प्रजाति लोप हुनबाट बचाऔं।
(लामा चितवन राष्ट्रिय निकुञ्जकी रेन्जर हुन्।)