चुनाव जितेर चर्चित चार युवा
पढाइ र कामकाज छोडेर गाउँ फर्किएका ३० वर्षमुनिका चार युवाले आगामी पाँच वर्ष स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएका छन्।
महानगर र केही उपमहानगर बाहेक करीब सात सय स्थानीय तहको मतगणना सकिंदा केही रोचक नतीजा आएका छन्।
देशको राजधानी लगायत केही शहरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् भने केहीमा जित हासिल गरेका छन्। केही शहरी क्षेत्र मात्र नभएर ग्रामीण भेगका स्थानीय तहमा युवा नेतृत्वमा आएका छन्।
निर्वाचनबाट २१ देखि २८ वर्षसम्मका चार युवाले स्थानीय सरकारको नेतृत्व सम्हाल्ने भएका छन्। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षे युवा दीपेन्द्र सुनारी मगर आएका छन्।
त्यस्तै, डडेल्धुराको परशुराम नगरपालिकामा २८ वर्षीय भरत बडायर जोशीले सरकार सञ्चालन गर्ने भएका छन्। पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय वशिष्ठ कुमार र सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय राजाबाबु यादवले पाँच वर्ष स्थानीय सरकारको नेतृत्व सम्हाल्नेछन्।
बुलिङटारका २८ वर्षे इन्जिनीयर
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा २८ वर्षीय सुनारी मगर अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले कांग्रेसका शशीकिरण बस्ताकोटीलाई १५९ मतले पराजित गरेका हुन्। दीपेन्द्रले चार हजार ५९ मत प्राप्त गरेका छन् भने किरणले तीन हजार नौ सय मत ल्याए। किरण निवर्तमान गाउँपालिका अध्यक्ष हुन्।
२०४८ सालदेखि लगातार स्थानीय निर्वाचन जित्दै आएको कांग्रेसको गढ तोड्दै दीपेन्द्र बुलिङटारको नेतृत्वमा पुगेका हुन्। उनी मेकानिकल इन्जिनीयर हुन्। काठमाडौंको थापाथली इन्जिनीयरिङ क्याम्पसबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक गरेका उनले चीनको हाउझोङ युनिभर्सिटीबाट मास्टर्स गरेका छन्।
पढाइका क्रममा गाउँभन्दा टाढा बस्दै आएका दीपेन्द्रका लागि कोरोनाभाइरसको महामारी गाउँमा समय बिताउने अवसर बन्यो। त्यही क्रममा उनले गाउँका समस्या बुझ्ने मौका पाए। उनका बुबा २०५४ र २०७४ सालमा वडाध्यक्ष उठे पनि पराजित भएका थिए। बुबाकै कारण राजनीतिमा होमिएका उनलाई कोरोना महामारीको बहाना बन्यो गाउँको नेतृत्व सम्हाल्ने।
परशुरामका २८ वर्षे भरत
डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा पनि २८ वर्षीय युवा निर्वाचित भएका छन्। कांग्रेसका तर्फबाट उम्मेदवार उनले पाँच हजार ९४१ मत ल्याएर नेकपा (माओवादी केन्द्र) का शेरसिंह माललाई पराजित गरे। शेरसिंहले पाँच हजार ८०५ मत पाएका थिए।
कांग्रेसको १४औं महाधिवेशनबाट नगर सभापति बनेका थिए। नगर अधिवेशनमा पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टलाई पराजित गरेका थिए।
भौतिकशास्त्रमा स्नातकोत्तर गरेका भरतले काम गरेर देखाउने प्रतिबद्धता गरेका छन्। कोरोनाकालमा मात्रै गाउँ फर्किएका उनी सन् २०१६ देखि २०१९ सम्म चीनमा अध्ययनरत थिए। उनले सामाजिक र पूर्वाधार विकासको अजेन्डा अघि सारेका छन्। उनी २०६८ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको सदस्य पनि बनेका थिए।
रामनगर हाँक्ने २२ वर्षे राजाबाबु
सर्लाहीको रामनगर गाउँपालिकामा माओवादीबाट २२ वर्षीय राजाबाबु अध्यक्ष निर्वाचित भएका छन्। उनले कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई एक हजार ६८९ मतले पराजित गरे।
राजाबाबुले चार हजार ८१ मत पाए भने हरिनन्दनले दुई हजार ३९२ मत पाए। हरिनन्दन उनकै काका हुन्।
संविधानसभा सदस्य शिवपूजन राय यादवका छोरा राजाबाबु बुबाको विरासत सम्हाल्न राजनीतिमा होमिएको बताउँछन्। काठमाडौंमा बीबीएस पढिरहेका उनलाई बुबाले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिन लगाएका थिए।
कालिमाकाईमा २१ वर्षीय वशिष्ठ
पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय वशिष्ठ कुमार अध्यक्षमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचन लडेका उनी कांग्रेसका ४२ वर्षीय अजय कुमारलाई १०८ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष बनेका हुन्। उनले तीन हजार ७१९ मत ल्याए भने अजयले तीन हजार ६०५ मत पाए।
एमबीए अध्ययनको तयारीमा रहेका उनी स्थानीय निर्वाचनमा होमिए। गाउँको विकास गर्ने उद्देश्य बोकेर उम्मेदवार बनेका वशिष्ठलाई जनताले पनि जिताए। उनी जसपा पर्साका नेता दिनेशकुमार कलवालका भतिजा हुन्।