धनगढीमा गोपाल हमालको जित सुनिश्चित
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ।
सात हजार मत गणना गर्न बाँकी छँदै उनको जित सुनिश्चित भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शनिबार बेलुका ५ बजेसम्म ५६ हजार २२६ मतगणना गरिएको छ।
धनगढीमा ६३ हजार ७१५ मत खसेको थियो। अब सात हजार ४८९ मतगणना गर्न बाँकी छ। हमालले ११ हजार ७५८ मतको अग्रता लिइसकेका छन्।
अहिलेसम्मको मतगणना अनुसार, स्वतन्त्र उम्मेदवार हमालले २४ हजार ५२९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मत पाएका छन्। नेकपा (एमाले) का उम्मेदवार रणबहादुर चन्द सात हजार ३८३ मत पाएर तेस्रो स्थानमा छन्।
त्यस्तै, उपमेयरमा माओवादीकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छन्। रानाले १२ हजार ५९४ मत पाएकी छन् भने अधिकारीले ११ हजार ५८९ मत पाएकी छन्।