तीस दिनमा कांग्रेसका दुई हजार कार्यक्रम
नेपाली कांग्रेसले एक महीनामा देशभरी दुई हजारभन्दा बढी कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जागरण अभियान अन्तर्गत कांग्रेसले जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरमा ती कार्यक्रम गरेको हो ।
२५ वैशाखमा शुरु भएको पहिलो चरणको अभियान जेठ २५ मा सम्पन्न भएको हो ।
अभियानबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभियानका क्रममा स्थानीय तहसम्म बृहत संवाद, विषय सम्प्रेषण र सुझाव सङ्कलन हुनाका साथै गणतन्त्र, सङ्घीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा बौद्धिक छलफल भएको बताए ।
उनले विभिन्न पार्टीका ३१ हजार ६४२कांग्रेसमा प्रवेश गरेको पनि बताए । “काँग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, सङ्घीयता र लोकतन्त्रको रक्षा एवं संवर्द्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ”, उनले भने ।
अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएकोले कमजोरी आत्मसात् गर्दैकांग्रेस अघि बढ्ने शर्माले बताए ।
जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते ९विपी जयन्तीका दिन० प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ ।
अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । उनीहरुले १४ असारभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ ।