कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टीको जित
निलम्बित सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हासिल गरेको छ।
स्थानीय चुनावअघि मात्रै स्थापना भएको निलम्बित सांसद रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका चार वटा स्थानीय तहमा जित हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशमा धेरै संसदीय क्षेत्र रहेको कैलालीमा ठूलो पार्टी पनि बनेको छ।
नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ। नेपाली कांग्रेसले गोदावरी र लम्की नगरपालिका तथा कैलारी गाउँपालिकामा जितेको छ भने नेकपा (एमाले) ले चुरे र बर्दगोरिया गाउँपालिकामा तथा नेकपा (माओवादी केन्द्र) ले गौरीगंगा र मोहन्याल गाउँपालिकामा जितेको छ। नेकपा (एकीकृत समाजवादी) ले घोडाघोडी नगरपालिकामा जित हासिल गर्दा धनगढी नगरपालिकामा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित सुनिश्चित गरेका छन्।
उन्मुक्ति पार्टीका तर्फबाट जानकी गाउँपालिकामा गणेश चौधरी सात हजार १५१ मत पाएर अध्यक्ष निर्वाचित भएका छन्। उनले कांग्रेस र माओवादीका साझा उम्मेदवार परशुराम महतोलाई एक हजार ९०९ मतान्तरले पराजित गरे। महतोले पाँच हजार २४२ मत पाए।
उपाध्यक्षमा पनि उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया ६ हजार ५६२ मत पाएर निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार गीता चौधरीले चार हजार ८५८ मत पाइन्। यो गाउँपालिकामा उन्मुक्ति पार्टीले पाँच वटा वडाध्यक्ष पनि जितेको छ।
त्यस्तै, टीकापुर नगरपालिकाको मेयरमा उन्मुक्ति पार्टीका रामलाल डगौरा थारू निर्वाचित भएका छन्। उनले नौ हजार ६४२ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत पाए। टीकापुरमा उन्मुक्ति पार्टीले दुई वटा वडाध्यक्ष पनि जितेको छ।
भजनी नगरपालिकामा उन्मुक्ति पार्टीका केवल चौधरी अत्यधिक मत सहित मेयर बनेका छन्। उनले आठ हजार ९६६ मत पाए भने प्रतिस्पर्धी माओवादीका शेरबहादुर चौधरीले पाँच हजार १९८ मत पाए।
उपमेयरमा पनि उन्मुक्ति पार्टीकै राजु तिरुवा निर्वाचित भएका छन्। उनले सात हजार ६२२ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका गोकेन्द्र भण्डारीले चार हजार ४९० मत पाए। यो नगरपालिकामा उन्मुक्ति पार्टीले तीन वटा वडाध्यक्ष पनि जितेको छ।
जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडाध्यक्ष पनि उन्मुक्ति पार्टीले जितेको छ। अध्यक्षमा उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी चार हजार ९०३ मत पाएर निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका बन्सराम बडायकले तीन हजार ३६८ मत पाए।
उपाध्यक्षमा उन्मुक्ति पार्टीकी रेखादेवी कठरिया चार हजार ५८१ मत पाएर निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी माओवादीका दीर्घराज बिनाडीले तीन हजार ३६८ मत पाए।
यी चार स्थानीय तहका वडा सदस्यमा पनि उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। कतिपय स्थानमा अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्धामा आएका थिए।