भरतपुरमा रेणु दाहाल पाँच हजारभन्दा बढी मतले अघि
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार रेणु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन्।
१४ वटा वडाको मतगणना गर्दा दाहालले २७ हजार ४१२ मत प्राप्त गरेकी छन्। यस्तै‚ नेकपा (एमाले) का विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी १२ हजार २०० मतान्तरले अगाडि छन्। अधिकारीले २९ हजार ५२५ मत र राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेका छन्।
गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी) ले ७ र ९ एवं नेकपा (माओवादी केन्द्र) ले वडा नम्बर १३ को वडाध्यक्षमा विजय हासिल गरेका छन्। अहिले वडा नम्बर १५ र १६ को गणना जारी छ। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। -रासस