झलनाथ खनालको निर्वाचन क्षेत्र सूर्योदयको मेयरमा एकीकृत समाजवादी विजयी
इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का रणबहादुर राई विजयी भएका छन्।
उनले १२ हजार ४३१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का काजीमान कागतेले १० हजार ५७९ मत प्राप्त गरेका छन्। यस्तै‚ राप्रपाका मोहन श्रेष्ठ एक हजार २६८ मत ल्याएका छन्।
उपमेयरमा नेपाली कांग्रेस दुर्गाकुमार बराल ११ हजार ८५४ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत प्राप्त गरेकी छन्। यस्तै‚ जनता समाजवादी पार्टीकी जुनु लिम्बूले एक हजार ५२ मत प्राप्त गरेकी छन्। यस नगरपालिकामा एकीकृत समाजवादी‚ कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गरेका थिए।
मेयरमा निर्वाचित राई २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा विजयी भएका थिए। एमालेबाट फुटेर एकीकृत समाजवादी बनेपछि उनले एकीकृत समाजवादी रोजेका थिए। उनी प्रदेश सभाबाट राजीनामा दिएर मेयरका उम्मेदवार बनेका थिए।
सूर्योदय नगरपालिका एकीकृत सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो। खनाल यही नगरपालिकाबाट मतदान गर्छन्।
१० वटा स्थानीय तह रहेको इलाम ‘हेभी वेट’ नेता पूर्व प्रधानमन्त्री समेत रहेका खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङको गृहजिल्ला हो। इलाममा पाँच स्थानीय तहमा एमाले‚ चारमा कांग्रेस र एकमा एकीकृत समाजवादीले प्रमुख पदमा जित निकालेका छन्।